
काठमाडौं, वैशाख २७ । प्रधानमन्त्री केपी ओलीले कोरोनाविरुद्ध लडाइँमा जुटिरहेको सरकारविरुद्ध खोप खरिदमा भ्रष्टाचार भएको जस्ता झूठो आरोप लगाइएको जिकीर गर्नुभएको छ ।
प्रतिनिधिसभामा विश्वासको मत लिने सन्दर्भमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारका असल प्रयासविरुद्ध तल्लोस्तरमै झरेर बदनाम गरिएको उल्लेख गर्नुभयो ।
कोरोनाविरुद्धको खोप खरिदमा भ्रष्टाचार गरिएको भन्दै निराधार अरोप लगाइएको उहाँको दाबी थियो ।
भ्रष्टाचारविरुद्ध सरकार खरो उत्रिएको भन्दै उहाँले गलत गर्ने कसैलाई पनि नछाडिने बचन दिँदै भन्नुभयो, ‘यस्तो महामारीको बेलामा पनि कसैले भ्रष्टाचार गरेको छ भने छानबिन गरेर कारवाही हुन्छ । तर यहाँ त निराधार आरोप लगाएर सरकारलाई बदनाम गर्न खोजियो ।’
प्रधानमन्त्री ओलीले नेपाल कोभिड विरुद्धको भ्याक्सिन उत्पादन नगरेपनि प्रयोग गर्ने पहिलो मुलुक बनेको र दक्षिण एशियामा भारतपछि नेपालले नै नागरिकलाई खोप लगाएको दाबी गर्नुभयो ।
कोभिडविरुद्धको लडाईलाई पक्ष वा विपक्षको रुपमा नभई यसलाई परास्त गर्नु सबैको साझा दायित्व हुनुपर्ने भन्दै उहाँले यतिबेला स्थिरता र स्थायित्वका साथ एकतावद्ध भएर, जनताले देख्ने बुझ्ने गरी सबै एकजुट भएर कोभिड–९ विरुद्ध लागेको हुनुपर्नेमा विविध कारणले त्यस्तो हुन नसकेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्