
काठमाडौं, वैशाख २९ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले आफ्नो पार्टी नयाँ सरकारको पक्षमा नरहेको दावी गर्नुभएको छ ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर दुबै नेताले आफूहरू नयाँ सरकार गठनको पक्षमा नरहेको जानकारी गराउनुभएको हो ।
जबकी उहाँकै पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई भने ओली सरकार अपदस्थ गर्दै नयाँ सरकार बनाउने पक्षमा उभिनुभएको छ ।
तर नेता ठाकुर र महतोले भने बुधबार दिउँसो राष्ट्रपति भवन शीतलनिवास पुगेर कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने पार्टीको निर्णय नभएको जानकारी गराउनुभएको हो ।
प्रधानमन्त्री केपी ओलीसँग बालुवाटारमा छलफल गरेपछि शीतलनिवास पुगेर दुई नेताले आफूहरु नयाँ सरकार गठनको प्रक्रियामा सामेल नहुने प्रष्ट्याउनुभएको हो ।
शीतलनिवासबाट निस्केर ठाकुर र महतो जसपा नेता डा. बाबुराम भट्टराईको निवास पुग्नुभएको थियो ।
प्रधानमन्त्री ओली संसदमा विश्वास मत पाउन असफल भएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका लागि दलहरूलाई विहीबार वैशाख ३० गते राति ९ बजेसम्मको समय दिनुभएको छ ।
नयाँ सरकार गठनका लागि सत्ताको साँचो बनेको जसपा आफैभित्र दुई गूट बनेर फुटको मुखमा पुगेको छ । कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन र ओली नेतृत्वको सत्तारुढ एमालेलाई जसपाभित्रको पूर्व राजपाको मत निर्णायक बनेको छ ।
प्रतिक्रिया दिनुहोस्