
काठमाडौं, वैशाख २९ । नेपाली कांग्रेसका नेता दिपक गिरिले कोरोना महामारीको विकराल अवस्थामा जनताको जीवन बचाउन सम्पूर्ण ध्यान केन्द्रित गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बुधबार एक विज्ञप्ति निकाल्दै पूर्वमन्त्रीसमेत रहनुभएका गिरिले भन्नुभएको छ, ‘राजनीति त गर्दै गरौँला, तर कोभिड–१९ को यो विकराल अवस्थामा पहिला त आम जनताको स्वास्थ्यको बारेमा गम्भीर हुन अत्यावश्यक छ । कोभिड – १९ विरूद्धको लडाईँमा एकजुट भएर आम जनताको स्वास्थ्य सेवामा समर्पित बनौं !’
सरकारको ध्यान महामारीमा परेका जनताको जीवन जोगाउनेभन्दा सत्ता टिकाउने र कसरी हुन्छ पैसा कमाउने भन्नेमा रहेको भन्दै उहाँले भन्नुभएको छ, ‘कोभिड–१९ का कारण जनजीवन अस्तव्यस्त भइरहेको बेला महंगी, कालोबजारी र भ्रष्टाचारले मुलुक आक्रान्त छ ! अर्थ व्यवस्थाको सूचाङ्क कहालिलाग्दो छ । उद्योग, कलकारखानाहरू वन्द हुनुका साथै कैयौँ व्यापारीहरू पलायन भएको अवस्था छ । अस्पतालहरूमा वेड तथा अक्सिजनको अभावका कारण नागरिकहरू अकालमा मृत्युवरण गर्न बाध्य हुनु परिरहेको कारूणिक अवस्था छ । न्यूनतम् उपचार सुविधाको अभावमा आमजनता अस्पतालको सिडि, बरण्डामा छट्पटाइरहेका छन् । यस्तो विकराल अवस्थामा सरकार भने जनताको जीऊ–धनको सुरक्षामा केन्द्रित नभईँ, सत्तामा रजाइँ गर्ने दाउपेचको फोहरी खेलमा चुर्लुम्म डुबेको छ ।’

प्रतिक्रिया दिनुहोस्