२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


अब कसको नेतृत्वमा बन्ला त ! नयाँ सरकार


0
Shares

kp oli deuba prachanda baluwatar

खलनाथ ताजपुरीया

काठमाडौं, बैशाख २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही बैशाख ३० गतेभित्र प्रतिनिधि सभाको बहुमत सिद्ध हुने गरी बहुमतीय सरकार गठनका लागि दलहरुलाई आह्वान गरेसँगै नयाँ सरकार गठनको औपचारिक र अनौपचारिक कसरतहरु तिव्र भएका छन ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेकपा एमालेकै माधव नेपाल समुहमा खेलेर आफ्नो पक्षमा बहुमत पुर्‍याउन कम्मर कसेर लाग्नु भएको छ ।

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली पुनः आफै प्रधानमन्त्री बन्ने खेलमा हुनुहुन्छ ।

त्यसका लागि उहाँले जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर समुहलाई भरपुर प्रयोग गरी विपक्षी गठनबन्धनलाई बहुमत पु¥याउन रोक्ने प्रयास गरिरहनु भएको छ ।

ठाकुरले बुधबार राष्ट्रपतिलाई भेटेर आफ्नो दल बहुमतीय सरकार गठन प्रकृयामा सामेल नहुने भनी पत्र बुझाउनु यही खेल अन्तर्गतको हिस्सा हो ।

यो रणनीति सफल भए विपक्षी गठबन्धनको बहुमतीय सरकार गठनको ढोका बन्द हुने छ । बहुमतीय सरकार गठनको समयसीमा समाप्त भएपछि ओली संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ठुलो दलको हैसियतमा पुनः प्रधानमन्त्री बन्ने दाउमा हुनुहुन्छ ।

यो भयो ओली रणनीति । अर्को रणनीतिमा कांग्रेस सभापति देउवा लागिरहनु भएको छ । उहाँ एमालेकै माधव नेपाल खेमामा रहेका २० सांसदलाई प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिन लगाउने र कुल सांसद संख्या घटेपछि आफ्नो पोल्टामा बहुमत सांसद रहेको सिद्ध गर्ने कसरतमा हुनुहुन्छ ।

नेपाल पक्ष देउवाको रणनीतिमा सहमत हुने सम्भावना पनि बढ्दो छ ।

सत्तारोहणको रोमाञ्चक खेलमा लाग्नु भएका ओली र देउवा मध्ये कस्को रणनीति सफल हुन्छ त्यो बिहीबार राति ९ बजेसम्मको समयले स्पष्ट पार्नेछ ।

ओली सफल भएमा देउवाको पक्षमा बहुमत पुग्ने छैन र संविधानको धारा ७६ उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा ओली नेतृत्वमै सरकार बन्नेछ ।

एमालेको माधव खेमाका सांसदहरुले राजीनामा गरी कांग्रेस नेतृत्वमा बहुमतीय सरकार गठनको बाटो खोलिदिए देउवा सफल हुनुहुनेछ ।

कोरोना महामारीका बेला मिलेर काम गनुृपर्ने दलहरु सत्तारोहणको लिगलिगे दौडमा लाग्नुले उनीहरु जनताप्रति कत्ति पनि संवेदनशील छैनन भन्ने प्रष्ट भने पारेको छ ।