२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


कोरोना संकटमा फसेको नेपालबारे अमेरिकी संसदमा छलफल, सहयोग गर्न सरकारलाई सांसदहरुको आग्रह


0
Shares

काठमाडौं, वैशाख ३० । अमेरिकी संसदमा अनियन्त्रित हुँदै गएको नेपालको कोरोना संकटबारे छलफल भएको छ ।

बुधबार अमेरिकी संसदको माथिल्लो सदन सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा नेपालमा कोरोना भाइरसले पारेको असरबारे छलफल भएको हो ।

कोभिड–१९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेसपोन्स’ बारेको सुनुवाइमा कनेक्टिकट राज्यबाट अमेरिकी सिनेटमा प्रतिनिधित्व गर्ने सिनेटर क्रिस मर्फीले नेपालको अवस्था बारेमा जिज्ञासा राख्नुभएको हो ।

नेपालमा कोरोनाको महामारीको अवस्था डलरलाग्दो रहेकोबारे आफूले कनेक्टिकटको नेपाली समुदायबाट सुनेको र यसबारे बाइडेन प्रशासनलाई अझै सहायताका लागि आज आफूले सिनेटमा दबाब दिएको मर्फीले ट्वीटरमा उल्लेख गर्नुभएको छ ।

सिनेटर क्रिसले नेपालमा स्वास्थ्य सामग्रीको निर्यातमा भारतले बन्देज लगाएकाले अवस्था झन् नाजुक भएको भन्दै चिन्ता पनि व्यक्त गर्नुभएको छ ।

कोभिड महामारीको लागि युएसएआइडीका लागि वरिष्ठ सल्लाहकार जेरेमी कोन्डयाकले नेपालको अवस्था भयावह भएको उल्लेख गर्दै परीक्षण गरिएका अधिकांशमा कोरोनाको संक्रमण पाइएको जानकारी दिनुभयो । संक्रमण दर उच्च भएको भन्दै उहाँले नेपाललाई अतिरिक्त सहायताका लागि योजना बनाइरहेको पनि सिनेटलाई जानकारी दिनुभएको छ ।

नेपालको महामारीको अवस्था र अमेरिकाले गर्नुपर्ने खोप लगायतका सहायताका सन्दर्भमा आगामी मे १७ मा अमेरिकी सिनेटको वैदेशिक मामिला कमिटीमा सिनेटरहरुसँग छलफल पनि राखिएको छ ।

मेरिल्याण्ड राज्य संसदका डेलिगेट ह्यारी भण्डारीका अनुसार उक्त दिन अमेरिकाको सिनेटमा महत्वपूर्ण भूमिका खेल्ने सिनेटर क्रिस भ्यान होल्यानले जानकारी दिनुहुनेछ ।

सिनेटर होल्यानले यसबारेमा ह्वाइट हाउससमक्ष नेपालको अवस्थाबारे पत्राचार गरिसकेको पनि जनाइएको छ । अमेरिकाको संघीय सरकारलाई थप सहायता बढाउनका लागि डेलिगेट भण्डारीको नेतृत्वमा हस्ताक्षर अभियान पनि चलिरहेको छ ।

सिनेटको विदेशसम्बन्ध समितिमा रहेका आफ्नो क्षेत्रका सिनेटरहरुलाई फोन गरेर नेपालको अवस्थाबारे जानकारी दिन र थप सहायताको पहलका लागि अनुरोध गर्न अमेरिकास्थित सबै नेपालीलाई भण्डारीले आह्वान पनि गर्नुभएको छ ।

मेरिल्याण्डबाट प्रतिनिधित्व गर्ने सिनेटर क्रिस भ्यान होलान र वेन कार्डेनको कार्यालयलाई समेत नेपालको पछिल्लो अवस्थाको बारेमा जानकारी गराउँदै सहयोगको लागि संघीय सरकारसँग अनुरोध गर्न पहलकदमी गरेको भण्डारीले जानकारी दिनुभयो ।