
काठमाडौं । फुटको डिलमा पुगेको नेकपा एमालेलाई विभाजनबाट रोक्ने अन्तिम प्रयासमा नेताहरु जुटेका छन् ।
पार्टी अध्यक्ष केपी ओली पक्षीय स्थायी कमिटी बैठक बसेर वरिष्ठ नेता माधव नेपालसहित चार जनाको कार्वाही फुकुवा गरिसकिएको छ भने दुई नेताबीच भेट गराउने प्रयास पनि जारी रहेको छ ।
यसैबीच, अध्यक्ष ओली र नेता नेपालबीच भने बुधबार र बिहीबार टेलिफोनमा सम्वाद भने भएको छ । अध्यक्ष ओलीले नेपाललाई भेटवार्ता गर्न प्रस्ताव राख्नुभएको छ ।
नेताहरुका अनुसार आजै दुई नेताबीच भेटवार्ता हुनेछ । अध्यक्ष ओलीले आफ्नातर्फबाट नेता विष्णु पौडेललाई नेपाल निवासमै पठाउनुभएको थियो ।
त्यसलगत्तै बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई गरिएको कारबाही फुकुवा गर्दै पार्टीकातर्फबाट अरु निर्णय गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको छ ।
गत बैशाख १६ र २० मा अध्यक्ष ओलीले ती चार नेतालाई ६ महिनासम्म निलम्बन गर्नुभएको थियो ।
२७ बैशाखमा संसदबाट प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसकेपछि राष्ट्रपति विद्या भण्डारीले दलहरुलाई संयुक्त सरकारका लागि आज राति ९ बजेसम्मको समय दिनुभएको छ ।
ओलीलाई जसरी पनि हटाइछाड्ने अभियानमा जोडिएका विपक्षीहरुलाई संसदमा बहुमत पु¥याउन नेपाल पक्षका सांसदहरुको साथ चाहिएको छ । यसका लागि माधव पक्ष सांसद पदबाट राजीनामा गरेर भए पनि विपक्षीलाई सघाउने बाटोमा लाग्ने देखेपछि ओलीले निलम्बन फुकुवाको निर्णय गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्