२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


छुट्टाछुट्टै बार्दलीमा बस्ने देउवा र ओलीको निस्किने ढोका एउटै


13
Shares

तेजप्रसाद लामिछाने ।

लामो राजनीतिक सक्रियता, लामै संघर्ष पछि केपी शर्मा ओली र शेरबहादुर देउवा यी दुई अहिले कम्युनिस्ट र काङ्ग्रेसको पार्टी नेतृत्वमा छन् । २०७१ असारको ९औ महाधिवेशनबाट केपी ओली नेकपा एमालेको अध्यक्ष बने । फागुन २०७२ मा काङ्ग्रेसको १३औ महाधिवेशनबाट देउवा काङ्ग्रेस पार्टी सभापतिको कुर्सीमा पुगे । सबैले अशुभ मान्ने १३ अंकले यसपटक काङ्ग्रेसलाई हस्पिटलको भेन्टिलेटरमै पुर्यायो । ०७४ को आमचुनाबमा ओलीको कुटिल रणनीतिका कारण नेकपाले दुई तिहाई नजिकको सरकार बनायो । पार्टी नेतृत्वको अकर्मण्यताकै कारण नेपाली काङ्ग्रेस निरीह प्रतिपक्षीमा थला पर्यो । तिनै तहमा चुनाव हारेका देउवा नेतृत्व काङ्ग्रेसीहरु पुरै डिप्रेसनमा देखिन्छन् । ओली सरकारले गरेका अत्याचार र भ्रष्टाचारका विरुद्धमा संसदमा चुईक्क बोल्न नसक्ने शेरबहादुर देउवा प्रम ओलीलाई भेट्न राती राती बालुवाटार छिर्न लाज मान्दैनन् ।

संसदमा भ्रष्टाचारको विरुद्धमा बोल्ने निर्वाचित सांसद गगन थापालाई स्वतन्त्र सांसद जस्तै बनायो काङ्ग्रेस नेतृत्वले । अहिले उनी पार्टी पदाधिकारी र ससदिय दलको कुनै भुमिकामा छैनन् । तर त्यही काङ्ग्रेसमा जनमत नभएर चुनाव हारेकाहरु उपसभापति, महामन्त्री, सह-महामन्त्री र प्रवक्तामा मनोनयन र नियुक्ति भएकाछन् । २०५९ सालमा आफुलाई साथ दिने र आफ्ना मञ्जन मण्डली बाहेक अरु सबैलाई देउवाले गैर काङ्ग्रेस सम्झिछन् । प्रतिनिधि सभामा प्रमुख सचेतक र सचेतकमा समेत समानुपातिक सांसदलाई नियुक्ति गरेर लोकतान्त्रिक पद्धति र जनमतको अपमान गरेको छ काङ्ग्रेसले । ०४८ देखि अहिले सम्म फर्केर हेर्दा सरकार र पार्टी नेतृत्वमा देउवा सक्रिय हुदा उनी सधै आलोचित र विवादित रहे । २०५२ , २०५८ , २०६१ र २०७४ सालमा सरकारको नेतृत्व गर्दा होस् । २०७२ साल पछि पार्टीको नेतृत्व गर्दा होस् । देउवाको कार्यकाल कहिल्यै लोकतन्त्र र काङ्ग्रेसको हितकरमा रहेन ।

आगामी चुनावमा जनताको मत जित्नको लागी काङ्ग्रेससंग कुनै चुनावी नारा र एजेन्डा नै छैन । सरकारको अरबौ भ्रष्टाचारमा काङ्ग्रेस नेतृत्वले बोल्न नसकेको आरोप छ । विपक्षी दलले गर्नु पर्ने ललिता निवास काण्ड र वाइडबडी काण्ड मिडियाले सार्वजनिक गर्यो । भ्रष्टाचारको विरुद्धमा देशभर आगो बल्न थाल्यो । काङ्ग्रेसका केही नेताहरुले सरकारको सातो लिन थाले । अर्को दिनको मिडियामा यो भ्रष्टाचार र अनियमिततामा काङ्ग्रेस नेतृत्वको नाम जोडियो । भ्रष्टाचार बिरुद्धमा बोल्नेहरुलाई चुप लगाउन प्रम ओलीभन्दा काङ्ग्रेस नेतृत्व नै बढी सक्रिय भयो ।
भ्रष्टाचार मुद्दालाई केन्द्रिय समितिमा बहस गराउनै चाहेन काङ्ग्रेस नेतृत्वले । बल्ल बल्ल केन्द्रिय बैठकको एजेन्डा बन्यो वाइडबडी काण्ड । आफैलाई समस्या पार्ने देखेर वाइडबडी कान्डलाई जहाज काण्डको नाममा नामकरण गरेर निस्तेज पारियो । सरकारलाई अप्ठ्यारो पर्ने गरि काङ्ग्रेस पार्टीको जुनसुकै निर्णयलाई रोक्न सक्ने हैसियत राख्छन् देउवाले ।

चौतर्फी बिरोध सहेर भएपनी सरकारले गर्ने हरेक नियुक्तिमा प्रम ओलीले देउवाको लागी केही भाग छुट्टाएकै हुन्छन् । ट्रान्सपेरेन्सी इन्टरनेशनलले भ्रष्टाचार हुने मुलुकमध्ये नेपाललाई अग्रस्थानमा राख्यो । प्रम ओली र प्रतिपक्षी दलको नेता देउवा बिचको यो अनौठो मित्रता र घनिष्ठता देखेर बिश्व चकित छ । ०७४ को आमचुनाब अघि चतुर केपि ओलीका राष्ट्रिय मुद्दा ,चुनावी नारा नागरिकहरुले मन पराए । जहिले नि सधैभरी बर्ग सत्रु ठान्ने प्रचण्डलाई चतुर ओलीले आफ्नो बनाएको कुरा जिद्दी स्वभावका देउवाले धेरै पछि मात्र मात्र थाहा पाए । सामाजिक न्याय , शिक्षा , स्वास्थ ,राष्ट्रियता मुद्दामा चतुर केपि ओलीले सबैको मन जितेकै हुन् चुनाब ताका ।

जिद्दी देउवाले गरेका आईजी कान्ड , न्यायाधीश कान्ड , प्रदेश काण्ड र भरतपुर काण्डले काङ्ग्रेस चुनाबमा थला परेकै हो । पार्टी भित्र र बाहिरका सबैलाई मिलाएर लान सक्ने चतुर ओलीले ३ तहको चुनाव आफनो पोल्टामा पारे । जिद्दी स्वभावका देउवाले राम्रो जनमत र लोकप्रियता कमाएका आफ्ना सहपाठीहरुलाई नै ठेगान लगाउन खोज्दा पार्टी ज्वरो आउने गरि थला पर्यो । स्पष्ट बहुमतको सरकार बनाउने मौका पाएका केपि ओलीबाट आमनागरिकले ठूलो आशा राखेका थिए । उनीमाथी बिश्वास भएर नै उनको नेतृत्वको पार्टीलाई बिजयी गराएका थिए । सरकार बनाए पछि पार्टी भित्र सबैलाई मिलाएर जान सकेनन् । चुनावमा घोषणा गरेका आश्वासन पुरै बिर्सिएर सरकारमा बसेका भ्रष्टाचारी र अपराधीलाई संरक्षण गरेको आरोप लाग्न थाल्यो उनि माथी । ती चतुर केपि ओलीको जिद्दीपनका कारण पार्टीभित्र उनी एक्लिदैछ ।

‘म सभापति भएपछी काङ्ग्रेस पार्टीभित्र कोहि पनि दोस्रो दर्जाको नागरिक भएर बस्नु पर्दैन’, साढे पाँच बर्ष अघि सबैको मन जित्न त्यस्तो भन्ने तीनै देउवाले ०५९ सालमा आफुलाई साथ दिएका र अहिले आफ्नो वरिपरि घुम्ने भजन मण्डली बाहेक अरुलाई गैरकाङेस देख्छन् । प्रत्यक्ष निर्वाचनको उम्मेदवार टिकट बितरणमा पैसाको रामै चलखेल भएको कुरा केन्द्रिय समितिमै चर्काचर्की भएपछि बाहिर आएको थियो । बिपक्षी दललाई आफ्नो बनाएर पार्टी भित्रका नेतालाई किनारा लगाउदै प्रम ओली सर्वसत्तावादी सोचमा अघि बढ्दै छन् । भ्रष्टाचारको विरुद्धमा चुईक्क नबोल्ने देउवा सरकारसँग लाभका पद माग्न जान लाज मान्दैनन् । पार्टी भित्र नैतिकता , सुशासन र विधिको शासन खोज्नेलाई ठेगान लगाउदै अधिनायकवाद उन्मुखको सोचमा छन् देउवा । देउवा र ओलीको स्वभाव र कार्यशैली फरक छ । उनिहरु रहने बार्दली फरक फरक होला । तर भित्र पस्ने र बाहिर निस्किने द्वार चाहिँ एउटै देखिन्छ ।

प्रतिनिधि सभामा बिपक्षी दलको कमजोर भुमिकाको कारण चतुर प्रम ओली सर्वसत्तावाद उन्मुख भएका हुन् । नेपाली काङ्ग्रेसमा पार्टीभित्रको प्रतिपक्षी कमजोर ढुलमुल चरित्रको कारण जिद्दी स्वभावका देउवा अधिनायकवाद तिर हौसिएका हुन् । चतुर केपि ओली र जिद्दी देउवा लोकतान्त्रिक ब्यवस्थाको लागी हितकर त रहेन नै । प्राप्त उपलब्धिलाई कहाँनेर लगेर छोडी दिने हुन् । अहिले यसै भन्ने स्थिती छैन । पुर्व झापाका चतुर राजनेता र सुदुरपश्चिमका जिद्दी नेताले मध्यपश्चिमका मै हु भन्नेहरु च्याङ्ला बनाई दिए । अहिलेसम्म मस्त निन्द्रामा भएकाहरु बल्ल भट्टाभट ब्यझिदैछन ।

यी दुईलाई सर्वसत्तावाद र अधिनायकवाद उन्मुख बनाउनमा नेकपा र काङ्ग्रेस भित्रका लोभका भोगीहरु उत्तिकै दोषी छन् । ठिक समयमा ठिक किसिमले नियन्त्रण गर्न नसकेर अहिलेको यो भयावह स्थिती देख्न परेको हो । यी दुईमा अहिले न नैतिकता छ । नत विवेक नै छ , लाज र पछुतो भन्ने कुरा यिनिहरुको शब्दकोषमै छैन । ससद विघटन मुद्दामा प्रम ओलीलाई साथ दिन सक्ने देउवाले प्रम ओलीको बिकल्पमा उम्मेदवार देलान् भन्ने कुरा काङ्ग्रेसीलाई नै बिश्वास छैन । बेलगाम घोडा जस्तै बेसुरमा दौडिरहेका यिनिहरुको गन्तव्य कहाँ हो रु सायद यिनिहरुलाई थाहा नहोला । ओली र देउवाको ब्यवहार देश र लोकतन्त्रको लागी शुभ संकेत चाहिँ होईन ।