१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारत र नेपालमा देखा परेको मानव विपत्ती तत्काल सम्बोधन गर्न एम्नेष्टी इन्टरनेशनलको अपील


0
Shares

amnesty international healthworker torture job loos USA Russia

काठमाडौं, वैशाख ३० । एम्नेस्टी इन्टरनेसनलले कोरोनाका कारण भारत र नेपालमा देखा परेको मानव विपत्ती तत्काल सम्बोधन गर्न अपील गरेको छ ।

दक्षिण एशियामा घातक रूपमा फैलिएको कोभिड–१९ संक्रमणसँग जुध्नका लागि तत्काल गम्भीर कदम चाल्न आवश्यक रहेको भन्दै एम्नेष्टीले भनेको छ, ‘दक्षिण एशियाका सरकारहरूले स्वास्थ्य सेवासम्बन्धी अभावहरूलाई तत्काल संबोधन गर्नुपर्दछ र यस क्षेत्रमा कोभिड–१९ को तिब्र सङ्क्रमणविरुद्ध प्रतिकार्यका लागि अति शीघ्र स्वास्थ्य प्रणालीहरूलाई सुदृढ पार्नु पर्दछ ।’

भारत र नेपालको स्वास्थ्य प्रणाली टुट्ने विन्दुमा पुगेपछि दक्षिण एशियाका अरु देशमा भाइरसको पछिल्लो र घातक फैलावटलाई सामना गर्ने सवालमा देखिएको तयारीपनको अभावप्रति चासो व्यक्त गर्दै उसले खोपको न्यूनताका कारण यस क्षेत्र जोखिममा पुगेको औल्याएको छ ।

एम्नेस्टी इन्टरनेसनलका एशिया प्यासिफिक निर्देशक यमिनी मिश्रले भन्नुभएको छ, ‘भारत र नेपालमा जुन खालको मानव विपत्ति देखापरिरहेको छ यसले यस क्षेत्रका अन्य देशहरूलाई सङ्कटकालीन प्रतिकार्यका उपायहरूका लागि ठूलो लगानी गर्नका लागि एउटा चेतावनीको काम गरेको छ । भाइरस डरलाग्दो गतिमा फैँलदै सीमानाहरू पार गरिरहेको छ र यसले यस क्षेत्रका सबैभन्दा सीमान्तकृत जनसङ्ख्यालाई सबैभन्दा बढी कठोर रूपमा आक्रमण गर्न जारी राख्नेछ ।’

यस क्षेत्रका दशमा एकजना भन्दा कमले मात्र खोप लगाएकाले आगामी दिन र हप्ताहरूमा दक्षिण एशिया र विश्वका अन्य मुलुकका सरकारहरूले लिने निर्णयले यस क्षेत्रमा कोभिडले पार्ने मानवीय क्षति न्यूनीकरण गर्न सकिने पनि मिश्रले भन्नुभएको छ ।

भारतसँग खुला सीमा जोडिएको नेपालमा संक्रमण तीब्र वृद्धि भइरहेका बेला भारतले अक्सिजनको निर्यातमा रोक लगाएपछि स्थिति जटिल बनेको भन्दै यही बेला विकसित राजनीतिले झन् उथलपुथलको अवस्था आएको पनि उल्लेख गरिएको छ ।

एम्नेष्टीले नेपालका राजनीतिज्ञहरूलाई राजनीतिक झगडा र आन्तरिक कलहमा नअल्झी देशमा चुलिँदो संबटलाई सम्बोधन गर्न पनि अपील गरेको छ ।

महामारीले दक्षिण एशियालाई तहसनहस बनाइरहेको सन्दर्भमा जीवन बचाउने चिकित्सा उपकरणहरू प्रदान गर्न, खोपको उत्पादन र आपूर्तिमा अवरोध नगरी मानवअधिकारप्रतिको दायित्व पूरा गर्न तथा आवश्यक सहयोग प्रदान गर्न एम्नेस्टी इन्टरनेसनले अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको हो ।