
काठमाडौं, वैशाख ३० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच समयमै बहुमतीय सरकारको नेतृत्वका लागि दावी पेश गर्ने सहमति बनेको छ ।
देउवा निवास बूढानीलकण्ठमा भएको भेटवार्तामा देउवा र दाहालले राष्ट्रपतिले तोकेको समय सीमाभित्रै बहुमतीय सरकारका लागि दाबी पेश गर्ने सहमति भएको हो ।
यसका लागि सरकार दावीका लागि सांसदको आवश्यक संख्यासहित राष्ट्रपति कार्यालय शीतलनिवास जाने सहमति पनि गरिएको छ ।
संविधानको धारा ७६ (२) को सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आज राति ९ बजेसम्म समय दिनुभएको छ ।
समयसीमा नजिकिँदै गर्दा प्रधानमन्त्री ओली कसैगरी विपक्षी गठबन्धनलाई बहुमत पुग्न नदिने खेलमा हुनुहन्छ भने विपक्षी दलका नेताहरु बहुमत देखाएर सरकारको दाबी गर्ने अभ्यासमा देखिनुभएको छ ।
यसका लागि राजनीतिक गठजोड चलिरहेको छ । प्रधानमन्त्री ओली आफ्नो पद बचाउन आफैले कार्वाही गरेका पार्टी नेता माधव नेपाललगायतको कार्वाही फुकुवा गरी फकाउने प्रयास गर्दै हुनुहुन्छ ।
उता, जनता समाजवादी पार्टीमा भने महन्थ ठाकुर–राजेन्द्र महतो पक्षमा विपक्षी गठबन्धनसँग मिलेर ओलीको विकल्प खोजिरहेका उपेन्द्र यादव–बाबुराम भट्टराईलाई कुनै हालतमा बहुमत पुग्न नदिने प्रयासमा जुट्नुभएको छ ।
यादव पक्षलाई ४० प्रतिशत सांसदसमेत पुग्न नदिने गरी ठाकुर–महतो पक्षले आफूपक्षीय सांसदहरुलाई भक्तपुरको एक रिसोर्टमा लैजानुभएको छ ।
प्रतिक्रिया दिनुहोस्