
चितवन, बैशाख ३० । चितवनमा निषेधाज्ञा थप गरिएको छ । बैशाख १६ गते राति १२ बजेदेखि जिल्लामा जारी निषेधाज्ञा जेठ १३ गतेसम्मका लागि थप गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बिहीबार एक आदेश जारी गर्दै निषेधाज्ञाको अवधि थप गर्नुभएको हो ।
बैशाख १५ गते जारी निषेधाज्ञा शुक्रबार सकिदै थियो । तर जिल्लामा कोरोना संक्रमितको संख्यामा कमी नआएको र संक्रमण फैलने दर पति तिव्र भएकाले निषेधाज्ञा थप गरिएको हो ।
विवाह व्रतवन्ध लगायत अन्य संस्कारजन्य कार्यक्रमहरु होटल तथा पार्टी प्यालेसमा संचालन गर्न नपाईने तर घरमा संचालन गर्दा बढीमा १० जना नबढ्ने गरी जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।
यो वाहेक अन्य सवै वन्देज यस अघिकै कायम रहनेछ । जिल्लामा आज मात्रै थप २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ । आज थप भएका संक्रमित सँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको सख्या ३ हजार २९९ पुगेको छ ।
३ हजार ९८ जना होम आइसोलेसनमा, १९९ जना अस्पतालको आइसोलेसनमा र दुई जना संस्थागत आइसोलेसनमा उपचाररत छन ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार हालसम्म कुल संक्रमितको संख्या १० हजार ६३८ पुगेको र जसमध्य ७ हजार १८५ निको भएका छन् ।
जिल्लामा हालसम्म १५४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्