
एजेन्सी, वैशाख ३१ । भारतको उत्तरपूर्वी राज्य असममा एकै ठाउँमा १८ वटा हात्ती मृत अवस्थामा फेला परेका छन् ।
असमको नगावन जिल्लास्थित प्रस्तावित कुन्डोली आरक्षको पहाडमा बिहीबार ती हात्ती मरेका अवस्थामा फेला पारिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
१४ वटा हात्ती एक ठाउँमा र ४ वटा अलि तल मृत भेटिएको वन अधिकारीहरूले उधृत गर्दै समाचारहरुले उल्लखे गरेका छन् ।
बुधबार राति उक्त क्षेत्रमा ठूलो चट्याङ परेको र त्यसैमा परेर ती हात्ती मरेको हुन सक्ने अनुमान अधिकारीहरुको छ ।
मरेका ती हात्तीको शुक्रबार पोस्टमार्टम गरिँदैछ । त्यसपछि मात्र खास कारण खुल्ने जनाइएको छ ।
ठूलो संख्यामा हात्ती मृत फेला परेकामा असमका मुख्यमन्त्री हिमान्ता विश्व शर्माले दुःख व्यक्त गरेको छन् । उनले घटनाको छानबिन गरी प्रतिवेदन बुझाउन भनेका छन् ।
प्रतिक्रिया दिनुहोस्