
दिपेन्द्र अधिकारी
काठमाडौं, बैशाख ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक सरकारको बागडोर सम्हाल्नु भएको छ ।
सरकारको सकारात्मक कामको समर्थन गर्ने र आलोचनात्मक भूमिकामा रहने प्रतिपक्षी दलहरुले अबको रोड म्याप जनताको जीवन रक्षा गर्नु नै रहेको बताएका छन् ।
यतिखेर प्रधानमन्त्री ओलीलाई कोरोना नियन्त्रण गर्न असफल रहेको आरोप पखाल्ने मौका रहेको छ ।
सरकारको बागडोर सम्हाल्न फेरी पनि केपी शर्मा ओली नै आइपुग्नु भएको छ ।
उहाँले तेस्रो कार्यकालको शुरुवात पनि आकर्षक कुराबाटै गर्नु भयो ।
जनता अक्सिजन नपाएर मृत्युवरण गर्न बाध्य छन् । न्यूनतम स्वास्थ्य सेवा नपाएर नागरिकले मर्नु पर्ने अवस्था आउँदा सरकार यतिखेर अत्यन्त आलोचित बनेको छ ।
संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधिसभाको सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा ओली प्रधानमन्त्री बन्नु भएको हो ।
पहिलो काम धारा ७६ को उपधारा ४ बमोजिम संसदबाट ३० दिन भित्र विश्वासको मत लिइ संवैधानिक प्रावधानको प्रधानमन्त्री बन्नुुपर्नेछ ।
यो अवधि भित्र नै जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक बाध्यता छ । प्रधानमन्त्री सामु चुनौतिका चाङ छन् । कर्तव्यबाट विमुख भएको आरोप खेप्दै आएको सरकाले कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चाली जनताको जीवनरक्षा गर्नु पहिलो प्राथमिकता हुनुपर्छ ।
कोरोना कहर सुरु भएदेखि नै सरकार भ्रष्टाचारमा मुछिंदै आएको छ । स्वास्थ्य सामग्री खरिद देखि कोरोनाकोे खोप खरिदमा समेत कमिशनको आरोप लागेको छ ।
अक्सिजन वितरणमा सरकारले नै सिन्डिकेट गरेको आरोप छ । यीनको छानविन गरि सुशासनको लागि सरकार सक्षम छ भन्ने प्रमाणित गर्ने अवसर ओलीलाई जुरेको छ ।
अर्को प्रतिपक्षी दल माओवादी केन्द्रले पनि संविधानको रक्षा गर्दै जनताको जीवनरक्षा गर्नु नै सरकारको रोडम्याप हुनुपर्ने जनाएको छ ।
संकटको घडीमा नागरिकलाई सरकार रहेको आभास दिलाउन सकेमात्र सरकारको सफलता हुन सक्छ ।
जसरी कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्शा सार्वजनिक गर्दा सडकदेखि संसदसम्म सम्पूर्ण नेपाली एक भएका थिए त्यसैगरि कोरोनाविरुद्ध लड्न निष्पक्ष रुपमा काम गर्ने हो भने सरकारलाई जनसमर्थन जुट्ने छ ।
प्रधानमन्त्री ओलीसामु आफूलाई प्रमाणित गर्ने यो एक महत्वपूर्ण अवसर रहेको मान्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्