
काठमाडौं, बैशाख ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको गोदावरीमा निर्माण भएको नेपालकै सबै भन्दा ठूलो सम्मेलन हल “गोदाबरी सिटीहल”को उद्घाटन गर्नुभएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट नै प्रधानमन्त्री ओलीले शुक्रबार गोदाबरी सिटीहलको भर्चुअल उद्घाटन गर्नुभएको हो ।
उहाँले सरकारले केही गरेन भनेर विपक्षीले आरोप लगाईरहे पनि सरकारले विकास निर्माणका कामहरुलाई निरन्तर अघि बढाईरहेको बताउनुभयो ।
उहाँले कोभिड १९ को संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि काम गरिरहेपनि राष्ट्रिय महत्वका आयोजना र अन्य विकास निर्माणका कामहरु पनि जारी नै राखेको र सिटीहलको उद्घाटनले त्यसलाई पुष्टी गरेको बताउनुभयो ।
गोदावरी नगरपालिका वडा नम्बर ३ स्थित ४३ रोपनी १५ आना क्षेत्रफल जग्गामा बनाईएको सो सिटी भवनको भौतिक संरचनाले मात्रै ११ रोपनी १३ आना चर्चेको छ ।
३ रोपनी क्षेत्रफलमा आन्तरिक सडक, १६ रोपनी २ आनामा बगैचा तथा हरियाली र १३ रोपनीमा पार्किङ्ग र अन्य कार्यका लागि छुट्याईएको छ ।
ध्वनी अवशोषित, भुकम्प प्रतिरोधी सो सिटी हलमा कम्तिमा पनि ३ हजार जना सहभागी भएर बैठक गर्न सक्ने छन् ।
भवनभित्र २ वटा भिभिआईपी कक्ष बनाईएको छ । उदाउँदो सूर्यको आकृतिमा बनाईएकाले यसलाई गोदावरी सनसाईज नाम दिईएको छ ।
केसी समानान्तर जेभी काठमाण्डौले निर्माण ठेक्का लिएको यो आयोजनाको निर्माण सम्झौता रकम ६५ करोड ७४ लाख र भेरिएसन सहित ८१ करोड, ६ लाख रुपैया रहेको छ ।
प्रतिक्रिया दिनुहोस्