
काठमाडौं, बैशाख ३१ । मुलुक यतीबेला कोरोना महामारीसँग जुधिरहेको छ ।
कोरोना महामारीले तिव्र रुप लिँदा अक्सिजन अभाव, बेडको अभाव लगायतका कारण दैनिक मृत्युदर पनि बढिरहेको छ ।
यसैबेला अर्थमन्त्रालयले आर्थिक वर्ष २०७८/७९ का लागि बजेटको तयारी पनि गरिरहेको छ ।
कोरोनाका कारण गत वर्षदेखी शिथिल अर्थतन्त्रलाई बलियो बनाई जनजीवन सुधार गर्नुपर्ने बजेट आउन केही दिन मात्रै बाँकी रहेको छ ।
कोरोना महामारीका कारण मुलुकका विभिन्न भागमा निषेधाज्ञा जारी गरिएको छ । यसले बौरिन लागेको अर्थतन्त्रमा पुनः प्रभाव पार्ने देखिएको छ ।
महामारी कहिलेसम्म र कुन हदसम्म जान्छ यसैमा मुलुकको अर्थतन्त्रको भविश्य निर्धारण हुनेछ । अर्थमन्त्रालयले पनि यसै अवस्थालाई मध्यनजर गरेर महामारी केन्द्रित बजेट निर्माणको तयारी गरिरहेको जनाउँदै आएको छ ।
अर्थविद्हरु पनि यस्तो अवस्थामा सरकारले जनताको जीवन बचाई स्वास्थ्य, रोजगारी, जीवन सुरक्षा गर्दै अर्थतन्त्रको रक्षा गर्नुपर्ने बताउँदै आएका छन् ।
अर्थविद् डिल्लिराज खनाल यतिबेला असामान्य अवस्था भएकाले सरकारले नयाँ सिराबाट महामारी नियन्त्रणमा केन्द्रित बजेट ल्याउनुपर्ने बताउनुहुन्छ ।
कोभिडको दोस्रो लहर फैलनुअघि केन्द्रिय तथ्याकं विभागले ०७७÷७८ मा ४ दशमलब १ प्रतिशत आर्थिक वृद्धिद्धर हुने आँकलन गरेको थियो ।
तर हालको अवस्था प्रतिकुल हुँदा आर्थिक अवस्थामा के कस्तो परिवर्तन आउला तत्काल भन्न नसकिने विभागको भनाई छ ।
सरकारले चालु आर्थिक वर्षमा कोरोना रोकथाम र नियन्त्रणका लागि तथा अस्पतालको शैया विस्तार गर्नका लागि मात्रै ३२ अर्ब ७३ करोड बजेट विनियोजन गरेकोे थियो ।
तर यस वर्ष कोरोनाले भयावह रुप लिँदा समेत अस्पतालमा बजेटमा भनिए बमोजीमका शैया थपिन सकेका छैनन् । तसर्थ सरकार खर्च परिचालनमा थप गम्भीर हुनुपर्ने देखिएको छ ।
सरकारले यस बर्ष चालु खर्च समेत कटौती गर्दै जनताको सुरक्षामा बजेट केन्द्रीत गर्नुपर्ने देखिएको अर्थविद् खनालको तर्क छ ।
सरकारले कोरोनाले थिलथिलो बनाएको अर्थतन्त्र जोगाउनका लागि जनस्वास्थ्य केन्द्रीत यथार्थपरक बजेट ल्याउन अर्थविद्हरुले सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्