
काठमाडौं, कात्तिक १० । नेपाली निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङका लागि उडान थालेको छ ।
आइतबार बिहान ९ बजे काठमाडौंबाट बेइजिङका लागि पहिलो जहाज उडेको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । उनका अनुसार ६० यात्रु लिएर एयरबस ३२० जहाज बेइजिङ उडेको हो ।
नेपाली हवाई इतिहासमै पहिलो पटक नेपालमा दर्ता भएको कम्पनीबाट चीनको राजधानी बेइजिङका लागि सिधा उडान भएको हो ।
विगतमा नेपाल वायुसेवा निगमले चीनको सांघाईमा ट्रान्जिट गरेर जापानसम्म उडान गर्ने गरेको थियो ।
शुरुका केही हप्ता साताको दुई उडान मात्र गरिने एयरलाइन्सले जनाएको छ । हरेक मंगलबार र शुक्रबार काठमाडौंबाट जहाज बेइजिङका लागि उड्ने छ । बिहान उड्ने जहाज राति १० बजे काठमाडौं आइपुग्नेछ ।
अहिले चीनबाट नेपालमा ५ वटा वायुसेवा कम्पनीले काठमाडौंमा उडान भर्ने गरेका छन् । नेपाल भ्रमण वर्षको शुरु हुनु अगावै थालिएको सेवाले भ्रमण वर्ष सफल बनाउन सहयोगि हुने विश्वास पनि एयरलाइन्सको छ ।
प्रतिक्रिया दिनुहोस्