२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


गण्डकी प्रदेशमा अझै भएन मन्त्रीमण्डल विस्तार


0
Shares

पोखरा, जेठ २ । पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीमा पुनः नियुक्त भएको पाँच दिन वितिसक्दा पनि उहाँले मन्त्रीमण्डल विस्तार गर्नु भएको छैन ।

कोरोनाबाट संक्रमित भएका गुरुङ आइसोलेसनबाटै मुख्यमन्त्रीको शपथ लिन पुग्नु भएको थियो ।

त्यसपछि स्वास्थ्यमा थप समस्या भएकोले आराम गरिरहनु भएको छ । गुरुङ पूर्ण रुपमा निको नहुँदासम्म मन्त्रीमण्डल पूर्णरुपमा विस्तार हुने छाँट देखिएको छैन ।

सोमबारसम्ममा केही मन्त्रीको सपथ गराइएपनि तत्कालै सबै मन्त्री नियुक्त नहुने बताइएको छ । श्रोतका अनुसार यसअघिका मन्त्रीमध्ये दुईजनालाई निरन्तरता दिने र बाँकी नयाँ नियुक्त गर्ने योजना छ ।

अर्थमन्त्री किरण गुरुङ र भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई निरन्तरता दिने बताइएको छ ।

नयाँ सरकार विस्तारको पुर्वसन्ध्यामा मन्त्रीका लागि सांसदहरुको आन्तरिक दौडधुप बढेको छ ।

मुख्यमन्त्री गुरुङले जनमोर्चा र जसपाका सांसदहरुलाई सरकारमै आउन प्रस्ताव गर्नु भएको छ ।

अहिले स्वतन्त्र सांसदसहित २८ मत रहेको एमालेलाई विश्वासको मत पुग्न अझै ३ मत चाहिन्छ ।

कांग्रेस, माओवादी र जसपा मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गर्ने पार्टी हुन् । जनमोर्चाले पनि गुरुङकोविरुद्धमा मतदान गर्ने निर्णय गरेको थियो ।

तथापी अन्तिम समयमा उहाँले राजीनामा दिएपछि राजनीतिक कोर्स फरक ढंगले अघि बढेको छ ।

आर्थिक वर्षको अन्त्यमा मन्त्रालयहरु धेरै दिन मन्त्रीविहिन हुँदा बजेट फस्र्यौटदेखि नयाँ बजेट निर्माणमा प्रभाव पर्ने चिन्ता व्यक्त गरिएको छ ।