
एजेन्सी, जेठ ३ । संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफ की कार्यकारी निर्देशक हेनरिटा फोरले विश्वका सात प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी–७) का मुलुकहरूलाई आफूसँग बढी भएको कोभिड–१९ विरुद्धको खोप कोभ्याक्सका लागि उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।
विश्वका न्यून तथा मध्यम आय भएका मुलुकका लागि खोप खरिद एवं वितरण गर्नेगरी विश्व स्वास्थ्य संगठन डब्लुएचओ मातहत कोभाक्स स्थापना भएको छ ।
कोभाक्समा विभिन्न राष्ट्र, व्यक्ति तथा संस्थाले खोपको व्यवस्था गर्न रकम उपलब्ध गराइरहेका छन् ।
महानिर्देशक फोरले एक विज्ञप्ति जारी गर्दै आफ्ना नागरिकलाई खोप लगाउने लक्ष पूरा गरेरै पनि कोभाक्समा ठूलो परिमाणमा खोप उपलब्ध हुन सक्ने बताउनुभएको हो ।
उहाँले अतिरिक्त खोप तत्कालै उपलब्ध गराउनु अत्यन्तै जरुरी भइसकेको पनि बताउनुभएको छ ।
भारतमा कोरोना महामारी तिब्र गतिमा फैलिएका कारण पनि कोभाक्समा उपलब्ध हुने खोपमा व्यापक कमी आएको छ ।
भारतको सेरम इन्स्टिच्यूट कोभाक्सका लागि खोप उपलब्ध गराउने प्रमुख खोप उत्पादक कम्पनी हो ।
तर भारतमै खोपको माग अत्यधिक रहेका कारण मे महिनाको अन्त्यसम्ममा कोभाक्समा उपलब्ध हुनुपर्ने १४ करोड डोज खोप प्राप्त हुने सम्भावना देखिएको छैन् ।
यसले गर्दा न्यून एवम् मध्यम आय भएका मुलुकहरूलाई कोभ्याक्समार्फत खोप उपलब्ध गराउने योजनामा धक्का लाग्ने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्