
एजेन्सी, जेठ ४ । अमेरिकाले आउने ६ सातामा विभिन्न मुलुकलाई कोरोनाविरुद्धको ८ करोड डोज खोप सहयोग गर्ने घोषणा गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा विश्वका विभिन्न मुलुकलाई कोरोनाविरूद्धको ८ करोड डोज खोप दिने सार्वजनिक घोषणा गर्दै, घोषणा गर्नुभएको हो ।
राष्ट्रपति बाइडेनले यसअघि नै अक्सफोर्ड/अष्ट्राजेनेकाले बनाएको ६ करोड खोप अरू मुलुकलाई दिने बताउनुभएकामा सोमबार थप दुई करोड डोज खोप पनि दिने सार्वजनिक गर्नुभएको हो ।
संसारका बाँकी मुलुकहरुलाई खोप दिने घोषणा गर्दै ह्वाइट हाउसमा बाइडेनले भन्नुभयो, ‘जति चौडा सागर र जति अग्ला पर्खालले पनि हामीलाई सुरक्षित राख्न सक्दैन । अन्धाधुन्ध फैलिरहेको रोग र मृत्युले ती मुलुकलाई अस्थिर त बनाउँछ नै हामीलाई पनि खतरामा राखिरहन्छ ।’
फाइजर, मोडेर्ना र जोन्सन एन्ड जोन्सनको खोपलाई प्रयोग अनुमति दिएको अमेरिकाले अक्सफोर्ड/अष्ट्राजेनेकाको खोपलाई भने अनुमति दिइएको छैन । यसअघि अमेरिकाले मेक्सिको र क्यानडालाई अक्सफोर्ड/अष्ट्राजेनेकाको ४० लाख डोज खोप दिइसकेको छ ।
अमेरिकाले रूस र चीनले भन्दा बढी खोप अरू मुलुकलाई दिने भन्दै खोपको बदलामा मित्र राष्ट्रहरूसँग कुनै ‘सहयोग’ नमाग्ने पनि बाइडेनले प्रष्ट गर्नुभयो । अमेरिकी खोप सहयोग पाउने मुलुकमा कुन कुन हुनेछन् भन्नेचाहिँ खुलाइएको छैन ।
बाइडेनको घोषणालाई विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनोम गेब्रेयेसुसले स्वागत गर्दै खोप वितरणमा सघाउन कोभ्याक्स तयार रहेको उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्