
काठमाडौं, जेठ ४ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले निषेधाज्ञामा किसानको समस्या सम्बोधनका लागि आवश्यक सहजीकरण गर्ने काम भएको बताउनुभएको छ ।
गत वर्षको बन्दाबन्दीमा किसानहरु प्रत्यक्ष मारमा परेकाले त्यसबाट पाठ सिक्दै अहिलेको बन्दाबन्दीमा किसानका कामलाई सहज हुनेगरी व्यवस्था मिलाइएको मन्त्री अर्यालले बताउनुभयो ।
मन्त्री अर्यालले किसानले उत्पादन गरेको कृषि उपजको आयात, निर्यात, ढुवानी, मल, बिउ, औषधीको ओसार–पसार, मासु, अण्डा, दुधजस्ता सबै वस्तु तथा सामानका सवारीसाधनलाई निर्वाध रुपमा संञ्चालन गर्नेे व्यवस्था मिलाइएको बताउनुभयो ।
अहिले देशका केही स्थानमा कृषि उपजको बजारीकरणमा समस्या देखिएको गुनासो आएको र यसलाई सम्बोधन गर्न ७ प्रदेशका कृषि मन्त्री र सचिवसँग छलफल गर्न लागिएको बताउनुभयो ।
यस्तै कोभिड संक्रमणको जोखिम बढ्दै जाँदा बन्दाबन्दी लम्बिन सक्ने र यसले कृषि क्षेत्रलाई थप असर गर्ने कुरालाई ध्यान दिदैँ किसान तथा व्यवसायीलाई सरकारले गर्नसक्ने सहयोग बारे अध्ययन÷छलफल गर्न मन्त्रालयले कार्यदल बनाएको पनि मन्त्री अर्यालले बताउनुभयो ।
यो कार्यदलले बन्दाबन्दीले किसानलाई पर्न गएको असुविधा र क्षतिको मुल्यांकन गरी क्षतिपूर्ति दिने बारे पनि सुझाव दिने मन्त्री अर्यालले बताउनुभयो ।
मन्त्री अर्यालले कृषि उपजको अनलाइन बजार र कृषि एम्बुलेन्सको अवधारणामा छलफल भइरहेको बताउनुभयो ।
यस्तै देशका केही कृषि बजारहरुलाई खुला राख्नेगरी तयारी भइरहेको बताउनुभएको छ ।
अघिल्लो पटकजस्तो दुःख अहिले किसानले भोग्न नपरेको मन्त्री अर्यालको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्