
काठमाडौं, कात्तिक १३ । गत शनिबार राति चलाइएको जुवा अपरेसनमा पक्राउ परेका २५ मध्ये ६ जना जुवाडेलाई सर्वोच्च अदालतमा पेश गरिएको छ ।
प्रहरीले गैरकानुनी थुनामा राखेको दावी गर्दै सर्वोच्चमा दायर बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाईका लागि उनीहरुलाई अदालतमा पेश गरिएको हो ।
भाइटीकाअघि नै छुट्ने आशामा सर्वोच्च पुगेका उनीहरुको मुद्दा गत सोमबार समय अभाव भन्दै हेर्दाहेर्दैमा राखिएको थियो ।
अदालतले उनीहरुलाई बुधबार ११ बजे उपस्थित गराउन भनेपछि अदालत लगिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी उमेश लम्सालले जानकारी दिए ।
तिहारभर थुनामा बस्नुपर्ने भएपछि सर्वोच्च जानेमा बलराम सापकोटा, पवनकुमार गुप्ता, श्रवणकुमार गोयल, पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ती लामाले सर्वोच्च गुहारेका थिए ।
शनिबार राति महाराजगञ्जस्थित विक्रम गौतमको घरबाट जुवा खेल्दाखेल्दै पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले २ करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक लगायत ३२ थान कौडा र ४ बुक तास बरामद गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्