१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भारतबाट खोप पाउने समय अनिश्चित, खोप उत्पादक सिरमले भन्यो अहिले निर्यात गरिन्न


0
Shares

काठमाडौं, जेठ ५ । भारतबाट नेपालले कोरोनाविरुद्धको खोप तत्काल पाउने सम्भावना टरेको छ ।

आफै कोभिड–१९ को चपेटमा परेको भारतको सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सिरम इन्ष्टिच्यूटले यस वर्षको अन्त्यसम्म विदेश खोप निर्यात गर्न नसक्ने जनाएपछि नेपालले पनि खोप पाउने सम्भावना टरेको हो ।

सिरमले अहिले आफ्नो प्राथमिकता भारतीय नागरिकलाई खोप लगाउनु भएकाले यो वर्षको अन्त्यसम्ममा मात्र निर्यात गर्नसक्ने विज्ञप्ति निकालेरै जनाएको हो ।

सिरमका प्रमुख कार्यकारी अधिकृत अदार पुनावालाले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले खोप उत्पादन क्षमता वृद्धि गर्दै भारतलाई प्राथमिकतामा राख्नेछौं । यो वर्षको अन्त्यसम्ममा कोभ्याक्स र अन्य मुलुकलाई खोप उपलब्ध गराउन सक्ने अपेक्षा गरेका छौं ।’

भारतले दिएको १० लाख खोप र थप खोप पनि दिने आश्वासनले नेपालले आफ्ना नागरिकलाई खोप अभियान थालेको थियो । भारतले पठाएको कोभिसिल्ड लगाएका लाखौं नेपाली दोस्रो डोज खोपको प्रतीक्षामा रहेका बेला यो निराशाजनक खबर आएको हो ।

नेपाल सरकारले सिरमले उत्पादन गरेको अष्ट्राजेनेका कोभिसिल्डको २० लाख खोप किन्न अग्रिम रकम नै भुक्तानसमेत गरिसकेको छ । तर भारतले आफैं दोस्रो लहरको चपेटमा परेको भन्दै खोप निर्यात गरेको छैन ।

संसारकै ठूलो खोप उत्पादक कम्पनी सेरमले अरु मुलुकलाई पठाउनुपर्ने करोडौं डोज खोप निर्यात गर्न सकेको छैन । भारतीयको ज्यान जोखिममा राखेर खोप निर्यात गर्न नसकिने पनि कम्पनीले जनाएको छ ।

भारतमा खोप कार्यक्रम सञ्चालन भइसकेको र संक्रमितको संख्या एकदमै न्यून भएका बेला संसारका अरू मुलुकलाई कोरोनाविरूद्ध लड्न सघाउने सरकारी नीतिअनुसार ६ करोड ६० लाख डोज विदेश पठाइएको पनि सिरमले जनाएको छ ।

भारत सरकारले नै आउँदो अक्टोबरअघि खोप निर्यात खुला नगर्ने बताएकै समयमा सिरमको पनि यो विज्ञप्ति आएको हो ।