
काठमाडौं, जेठ ५ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले राष्ट्रियसभा निर्वाचनमा पार्टी उम्मेदवार रामबहादुर थापालाई मतदान गर्न आह्वान गर्दै अन्यथा गरिए कार्वाही गर्ने चेतावनी दिनुभएको छ ।
बुधबार पार्टी सदस्यहरुका नाममा अपील जारी गर्दै ओलीले सूर्य चिह्न लिएर उम्मेदवारी दिएका थापालाई मतदान गर्न आह्वान गर्नुभएको हो ।
पार्टी निर्णय विपरीत मतदान नगर्न चेतावनी दिँदै ओलीले दलका उम्मेद्वारलाई मतदान नगर्नु एमाले पार्टीमा मात्रै नभएर बहुदलीय शासन प्रणालीमा पनि स्वीकार्य र क्षम्य नहुने चेतावनी दिनुभएको हो ।
पार्टीका उम्मेदवार रामबहादुर थापा भएकाले मत दिन आह्वान गर्दै ओलीले भन्नुभएको छ ‘उहाँको विजयले कम्युनिष्ट आन्दोलन भावनात्मक एकतामा समेत बल पुग्नेछ । तसर्थ यस निर्वाचनमा एकतावद्ध भएर आफ्ना पार्टीका उम्मेदवारलाई बिजयी बनाउनु हुन आग्रह गर्दछु ।’
थापालाई मत नदिने आशंका गर्दै ओलीले पार्टीका उम्मेदवारबाहेक अरूलाई मत दिनु कल्पनाबाहिरको भन्दै त्यस्ता प्रवृत्ति स्वीकार्य नहुने उल्लेख गर्नुभएको छ ।
२०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित थापा नेकपा विभाजित भई एमाले र माओवादी केन्द्र भएपछि एमालेमा प्रवेश गर्नुभएको थियो ।
उहाँ एमालेमा प्रवेश गरेपछि माओवादीले सांसदसमेत नरहने गरी कारवाही गरेकाले रिक्त सोही पदमा विहीबार उपनर्विाचन हुन लागेको हो ।
थापाका विरुद्ध एमाले पृष्ठभूमिकै संघीयताविज्ञ खिमलाल देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत दलले आफ्नो उम्मेदवार बनाएका छन् । ओलीसँग चरम तिक्तता रहेका बेलामा माधव नेपाल पक्षले नै देवकोटालाई उम्मेदवारमा सारेको थियो ।
अहिले एमालेमा ओली र नेपाल पक्षबीच सहमति खोज्ने प्रयास भएकाले नेपाल पक्षले के गर्नेछ भन्ने विषयले थापाको भविष्य टुंगो गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्