
काठमाडौं, जेठ ६ । कोरोना संक्रमण बढेसँगै दुई महिना पर धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि शुरु हुनेमा पनि अन्योल देखिएको छ ।
गत वर्षको महामारीको प्रभावका आधारमा चालु शैक्षिकसत्र, २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याइएको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ परिस्थितिबारे आङ्कलन गरिरहेको जनाएको छ ।
महामारीकै कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० र १२ कक्षाको परीक्षा स्थगन भएका छन् ।
यी परीक्षा निर्धारण नभएसम्म पनि नयाँ शैक्षिक सत्रबारे निर्णय गर्न असुविधा हुने देखिएको छ ।
मन्त्रालयल एसईई र कक्षा १२ को परीक्षाबारे निर्णय गर्न गठन गरिएको कार्यदलको प्रतिवेदनको प्रतिक्षामा छ ।
राजपत्रमा प्रकाशित शिक्षा नियामावली अनुसार विद्यालयहरूले असार १ गतेदेखि नै नयाँ शैक्षिकसत्र शुरु गर्नुपर्ने हुन्छ ।
तर कोरोनाको दोस्रो लहर सुरु भएसँगै सो कुरा व्यवहारमा लागु गर्न समस्या देखिएको हो ।
यसको व्यवहारिकता हेरेर पाठ्यक्रममा थप समायोजना गरी नयाँ भर्नाको नयाँ मिति तय गर्नुपर्ने देखिएको छ ।
विगतका वर्षमा चैतमा वार्षिक परीक्षा समाप्त भई वैशाखमा नयाँ भर्ना हुँदै आएको थियो ।
गत वर्ष शुरु भएको कोरोना महामारीले शैक्षिक क्यालेण्डर भताभुङ्ग पारेको छ ।
शहरका ठुला भनिएका निजी विद्यालयले भने शुल्क उठाउन आफूखुशी नयाँ भर्ना शुरु गर्ने तयारी गरेका छन् ।
हाल कक्षा १ देखि १२ सम्म सामुदायिक विद्यालयमा ५० लाख २८ हजार ८३ र संस्थागत विद्यालयमा १९ लाख ९३ हजार ५३९ गरी ७० लाख २१ हजार ६२२ विद्यार्थी छन् ।
काठमाडौं र पोखरा महानगरपालिकाले अनलाइन, अफलाइन तथा अन्य विकल्पको प्रयोग गरी जेठभित्र सबै वार्षिक परीक्षाको नतिजा सार्वजनिक गर्न निर्देशन दिएका छन् ।
कक्षा ८ को भने बार्षिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरिने भएको छ ।
असारबाट नयाँ शैक्षिक सत्र सुरु गर्न केही स्थानीय तह तयार भए पनि समग्र शैक्षिक सत्र सुरु गर्न भने अन्योल देखिएको हो ।
प्रतिक्रिया दिनुहोस्