काठमाडौं, जेठ ७ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाको निवासमा संसदमा विपक्षमा रहेका दलका नेताहरुको छलफल भएको छ ।
राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि आज साँझ ५ बजेसम्मको समय दिएको सन्दर्भमा नेताहरु छलफलमा जुटेका हुन् ।
प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत पनि नलिएको र राजीनामा पनि नदिएको समयमा नयाँ प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिले आह्वान गरेपछि विपक्षी दलहरुले आपत्ति जनाएका छन् ।
बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र एमालेका माधव नेपाल पक्ष सहभागि भएका छन् ।
बैठकमा राष्ट्रपतिले असंवैधानिक कमद चालेकाले उहाँविरुद्ध महाभियोग लगाउने बारेमा पनि छलफल भएको छ ।
यसअघि कांग्रेसले राष्ट्रपतिलाई महाभियोग लगाउनेबारेमा अरु दलसँग छलफल गर्ने निर्णय गरेको थियो ।
सोही बैठकमा जानुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिविरुद्ध महाअभियोग आउनसक्ने प्रतिक्रिया दिनुभएको छ ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव, एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेता हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्