
काठमाडौं, जेठ ७ । जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर पक्षले नयाँ सरकार गठनका सन्दर्भमा पनि तटस्थ बस्ने निर्णय गरेको छ ।
आफैलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएका बेला पनि नेता ठाकुरले आफुलाई अतिरिक्त लाभको आकांक्षा नरहेको टिप्पणीसमेत गर्नुभएको छ ।
पार्टीभित्र अर्का अध्यक्ष उपेन्द्र यादवले ठाकुरलाई प्रधानमन्त्री बनाएर जानुपर्ने बताउनुभएको छ भने कांग्रेसमा पनि यही मत बढेको छ ।
तर ठाकुर भने विपक्षी गठबन्धनको बैठकमा नजाने तर प्रधानमन्त्री केपी ओलीसँग सहकार्य गर्ने देखिनुभएको हो ।
ठाकुरको यो भूमिकाले प्रतिनिधिसभा फेरि विघटन गर्ने र मध्यावधि चुनावमा जाने प्रधानमन्त्रीसमेतको रणनीतिलाई सघाउने देखिएको छ ।
संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्रीमा नियुक्त एमाले संसदीय दलका नेता ओलीले संसदबाट विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिएका समयमा राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका आज साँझ ५ बजेसम्मको समय दिादै आह्वान गर्नुभएको छ ।
यस्तो सरकार बनाउनेबारे विपक्षी दलहरुको दौडधूप चलिरहेका बेला ठाकुर पक्षीय जसपाले भने सिंहदरबारमा आफ्ना सांसदहरुलाई बोलाएर तटस्थ बस्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री ओलीले आफूहरुको माग सम्बोधन गरिररहेकाले विपक्षमा जान नसक्ने ठाकुरको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्