८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


महराविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दायर


0
Shares

काठमाडौं, कात्तिक १४ । निर्वतमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योगमा बिहीबार मुद्दा दायर गरिएको छ ।

आफ्नै सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयासका आरोपित महराविरुद्ध प्रहरीले जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको अभियोगपत्र दायर गरेको हो ।

बिहीबारै थुनछेक बहस हुने भनिएपनि समयाभावका कारण हुनसकेन । उनलाई अदालतले न्यायिक हिरासतमा पठाइएको छ । थुनछेक बहस भने शुक्रबारमात्रै हुनेछ ।

संसद सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेका महरालाई प्रहरीले असोज १९ गते पक्राउ गरेको थियो ।
त्यसयता पटक-पटक म्याद थप गर्दै प्रहरीले महराविरुद्ध अनुसन्धान गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले महरालाई असोज २८ गते पक्राउ परेदेखि १३ दिन थुनामा राख्न म्याद दिएको थियो । त्यस्तै, अनुसन्धान नसकिएको भन्दै प्रहरीले कात्तिक ३ गते फेरि पाँच दिनका लागि म्याद लिएको थियो ।

अनुसन्धान सकाएर प्रहरीले बुझाएको प्रतिवेदनअनुसार सरकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता गरेको हो । अभियोगपत्रमा महरालाई पाँच वर्षसम्म कैदको माग गरिएको छ ।

यसैगरी, पदीय मर्यादाविपरीत कार्य गरेको भन्दै थप सजाय पनि माग गरिएको छ । अभियोगपत्रमा क्षतिपूर्तिकोसमेत माग गरिएको छ ।

अभियोगपत्र दर्तासँगै अब थुनछेक बहस गरिने छ । त्यसपछिमात्र महरा साधारण तारेखमा छुट्ने, धरौटीमा छुट्ने वा थुनामा जाने भन्ने टुंगो लाग्ने छ । यद्यपि, स्वास्थ्य समस्या देखाउँदै महरा नर्भिक अस्पतालमा बस्दै आएका छन् ।