
काठमाडौं, जेठ ८ । संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाने सरकारको निर्णयको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यो अधिनायकवादतर्फको यात्रा भएको भन्दै यसलाई इतिहासको कोतपर्वको संज्ञा दिनुभएको छ ।
शर्माले भन्नुभएको छ, ‘महामारीमा मृत्युुसंग जुधिरहेका जनतालाई निर्मम उपहार मध्यावधि ! इतिहासको भिन्न कोतपर्वपछि प्रधानमन्त्री अधिनायकवादको हाइवेको भ्रममा !’
प्रधानमन्त्री केपी ओलीलाई सचेत गराउँदै शर्माले भन्नुभयो, ‘हेक्का रहोस्, जनता पछि होइन अघि हुनेछन्, हामी अघि हुनेछौं, जीत जनताको हुनेछ, लोकतन्त्रको हुनेछ र संविधानलाई पुनर्जीवन दिइनेछ !’
महाभारतको सार उल्लेख गर्दै शर्माले सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गर्नुभएको छ, ‘अहंकारको वृक्षमा विनाशको फल लाग्छ, सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो !’
कारोना महामारीका समयमा निर्वाचनको रंगीन सपना महँगो पर्ने भन्दै उहाँले राष्ट्रपति र प्रधानमन्त्री दुबैलाई खबरदारी गर्दै लेख्नुभएको छ, ‘बुझि राख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजी, महाब्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ ! संविधानको सामुहिक बलात्कारको दुश्परिणाम महंगो पर्नेछ ।’
प्रतिक्रिया दिनुहोस्