२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


मलाई प्रधानमन्त्री नियुक्त नगर्नु घोर असंवैधानिक र सर्वसत्तावादी कदम–शेरबहादुर देउवा


0
Shares

काठमाडौं, जेठ ८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी भएको जिकीर गर्नुभएको छ ।

शनिबार एक विज्ञप्ति निकाल्दै सभापति देउवाले राष्ट्रपतिले आफूलाई प्रधानमन्त्रीमा नियुक्त नगरेकामा पनि आपत्ति जनाउनुभएको छ ।

देउवाले भन्नुभएको छ, ‘प्रधानमन्त्रीले हठात् अर्को सरकार गठनको सिफारिश गर्ने, राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिई प्रधानमन्त्री नियुक्तिको आह्वान गर्ने, संविधान बमोजिम नियुक्त गर्नु पर्ने म प्रतिनिधि सभाका सदस्यलाई नियुक्त गर्नु पर्ने र दावी नै गर्न नमिल्ने माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने कार्य घोर असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कार्य हुन् । यी काम राष्ट्रपति र प्रधानमन्त्रीको वदनियतपूर्ण ढंगले मिलोमतोमा षड्यन्त्रपूर्वक भएका छन् भन्ने तथ्य प्रधानमन्त्री नियुक्त भएको १ घण्टामा सबै नेपाली जनता सुतेको बेला मध्यराति प्रतिनिधि सभाको हत्या गरेको घटनाबाट प्रमाणित भएको छ ।’

देउवाले ओली सरकार गठनपछि निरन्तर रुपले गैर संवैधानिक र अलोकतान्त्रिक गतिविधि गर्दै लोकतान्त्रिक मूल्य, मान्यताको अवमूल्यन, विधि र पद्धतिको वेवास्ता र संसदीय पद्धतिको खिल्ली उडाउने काम भएको पनि उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आफूलाई प्रधानमन्त्री बनाउन इन्कार गरेको भन्दै देउवाले लेख्नुभएको छ, ‘प्रधानमन्त्री माननीय के.पी. शर्मा ओलीले प्रतिनिधि सभामा तीस दिन भित्र विश्वासको मत लिन नसक्ने भनी मन्त्रीपरिषद्बाट निर्णय समेत गराई राष्ट्रपतिलाई अर्को सरकार गठनका लागि अनुरोध गरे र सार्वजनिक रुपले पनि आफू विश्वासको मत लिन नसक्ने घोषणा गरे । राष्ट्रपतिले प्रधानमन्त्रीले आफू विश्वासको मत लिन नसक्ने भनी सिफारिश गरे पश्चात छोटो समय दिई अर्को सरकार गठनको प्रक्रिया प्रारम्भ गरिन् । राष्ट्रपतिले गरेको आह्वानको आधारमा मैले प्रतिनिधि सभामा तत्काल कायम रहेका सदस्य संख्याको स्पष्ट बहुमत सहित १४९ जना माननीय सांसदहरुको हस्ताक्षर सहित प्रधानमन्त्रीका लागि दावी प्रस्तुत गरे । नेपालको संविधान बमोजिम राष्ट्रपतिले मलाई तत्काल प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्नेमा त्यसलाई इन्कार गर्नु भयो ।’

राष्ट्रपतिले एक पटक प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भई संसदमा स्पष्ट अल्पमतमा परिसकेका र अर्को पटक बहुमत देखाउन नसक्ने स्वयं घोषणा गरी सकेका ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको आक्षेप पनि देउवाले लगाउनुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको अक्षर र भावना अनुसार माननीय ओलीले प्रधानमन्त्रीका लागि दावी गर्न नसक्ने प्रष्ट अवस्था हुँदाहुँदै त्यस्तो गैर संवैधानिक दावीलाई स्वीकार गरी पुनः उनलाई नै प्रधानमन्त्री तोक्ने कार्य असंवैधानिक मात्र होइन अनैतिक पनि हो ।’