८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


नेपाली कांग्रेस प्रचण्डपथमा लाग्यो– प्रधानमन्त्री केपी ओली


0
Shares

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेस प्रचण्डपथमा लागेको आरोप लगाउनुभएको छ ।

बालुवाटारमा पत्रकारहरुसँग प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र त्यसको नेतृत्व जसरी पनि कब्जा गर्ने प्रचण्डपथको बाटोमा लागेको आरोप लगाउनुभएको हो ।

दैनिकजसो बालुवाटारमा कार्यक्रम गरेर अरु पार्टी, आफ्नै दलका माधव नेपालसमेतका नेता, पत्रकार र बुद्धिजिवीमाथि अनवरत प्रहार गर्ने क्रममा उहाँले भन्नुभयो, ‘कांग्रेस उत्तेजना, आक्रोश र कब्जाको शैलीका लागि प्रचण्डलाई गुरु थापेर हिडेको छ ।’

आफूलाई प्रजातन्त्रवादी भन्नेहरुको शैली देख्दा आफूलाई ताज्जुब लागेको भन्दै कांग्रेसका नेताहरुले केपी ओलीले गराएको निर्वाचनमा भाग नलिने भनेको सुन्दा आश्चर्य लागेको बताउनुभयो ।

जनताबाट निर्वाचित सरकारले गराएको निर्वाचनमा भाग नलिने हो भने कस्तो प्रजातन्त्रको बाटोमा हिंड्दै छ कांग्रेस ? उहाँको प्रश्न थियो ।

आफू देशकै सबैभन्दा लोकप्रिय नेता रहेका दावी गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘संसदमा दुई तिहाईनजिक सांसदको समर्थनमा सरकार चलाउने मान्छे हुँ म । सबैभन्दा बढी पपुलर मतले चुनाव जित्ने मान्छे हुँ म । अनि मैले गराएको निर्वाचनमा भाग नलिने ? अनि के सडकबाट बनेको व्यक्तिले गराउने चुनाव ?’