
काठमाडौं, जेठ ९ । प्रधानमन्त्री केपी अोलीले आफ्ना विपक्षमा रहेका अरु दलका अध्यक्षहरुलाई अगस्तीको संज्ञा दिनुभएको छ ।
अरुलाई भाषिक मर्यादा सिकाउने ओलीले बालुवाटारमा पत्रकारहरुसँग आफ्नो विपक्षमा रहेका शेरबहादुर देउवा, पुष्पकमल दाहाल, उपेन्द्र यादव र माधव नेपाललाई ईग्गित गर्दै अगस्तीको संज्ञा दिँदै भन्नुभयो, ‘चार जना मान्छेको स्वार्थ, अतृप्त भोग कहिल्यै मेटिएन । तिर्खा, भोग नमेटिने अगस्तीहरु हुन् यी । यिनले गर्दा देश बिग्रियो ।’
उनैका कारण देशमा बेथिति बढेको औंल्याउँदै उहाँले भन्नुभयो, ‘चार/चार पटक प्रधानमन्त्री भएका । ७० वर्ष कटेकाहरुले अस्तव्यस्तता मच्चाएको । के उनीहरुले युवाका लागि सोचेका छन् र ? आफ्नो अहं र इगोका लागि लडिरहेका छन् । १५ वर्ष नेतृत्व गरेकाहरु आफ्नै लागि भनेर हिडेका छन् । युवाका लागि गरेका छन् र ?’
युवालाई आह्वान गर्दै उहाँले भन्नुभयो, ‘अब युवाले सोचून् । केहीका लहडका लागि देशलाई बर्बाद नगरौं । अरु कुनै सोच छैन । उद्देश्य छैन । खाली सत्तास्वार्थ । नपाएकाले गरेको हो र ? उनीहरु हिडेको लोकतान्त्रिक र संवैधानिक बाटो होइन । फोहोरी बाटोबाट वातावरण धमिल्याउने प्रदूषित गर्ने प्रयास गरिएको छ । युवा सचेत बनून ।’
संसद भंगबारे अदालत जान लागेका दलहरुप्रति व्यंग्य गर्दै ओलीले थप्नुभयो, ‘मुद्दा पनि मोर्चा कसेर हाल्ने हो र ? सच्चाईका लागि त एकजनाले हाले पनि भैहाल्छ नि । बल पुर्याएर, मोर्चा कसेर मुद्दा हाल्नुपर्ने हो र ? त्यसको के अर्थ ? न्याय मोर्चा, दबाब, प्रचार कुप्रचारबाट प्रभावित हुनुहुन्न । हुँदैन भन्ने मलाई विश्वास छ ।’
प्रतिक्रिया दिनुहोस्