
काठमाडौं, जेठ ९ । प्रधानमन्त्री केपी ओलीले आफ्ना आलोचना गर्नेहरुमाथि कटू प्रहार गर्नु भएको छ ।
बालुवाटार र सिंहदरबारलाई आफ्ना आलोचकलाई गाली बर्साउने थलोका रुपमा विकास गर्नुभएका प्रधानमन्त्री ओलीले आइतबार पनि यसलाई निरन्तरता दिनुभयो ।
प्रतिनिधि सभा विघटन यता उहाँको कदमको आलोचना गर्नेहरुलाई उहाँले लगातार प्रहार गर्न थाल्नुभएको छ ।
गत वर्ष पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गरेयता आफ्ना कदमहरुलाई बलपूर्वक सही देखाउने प्रयासमा उहाँ अरुलाई होचो देखाउने अभियानमा लाग्नुभएको हो ।
दोस्रो पटक प्रतिनिधि सभा भंग गर्दै कोारेना महामारीका समय देश र जनतालाई जबरजस्ती नयाँ चुनावमा होम्नु भएका उहाँको कदमको विरोध गर्नेहरु निरन्तर उहाँको निशानामा पर्ने गरेका हुन् ।
आइतबार पनि बालुवाटारबाट प्रधानमन्त्री ओलीले आफ्ना पक्षमा नलेखेको भन्दै संचारमाध्यमहरुमाथि टिप्पणी गर्दै भन्नुभयो, ‘केही त मिसन पत्रकारितावाला छन् । उपलब्धि देख्दै नदेख्ने । कमजोरी छैन भने बनावटी कुरा बनाउने । मार्मिक कथा बनाउने । मार्मिक स्थितिलाई आफ्नो पक्षमा प्रयोग गर्ने । सञ्चारमाध्यम त सही, सकारात्मक भूमिका लागि हुनुपर्दछ ।’
आफ्ना कदमको आलोचना गर्ने बुद्धिजिवीहरुप्रति उसैगरी हूर्मत लिँदै भन्नुभयो, ‘केही बुद्धिजिवी भन्नेहरु छन्, जसले कहिल्यै सरकारले गरेको राम्रो काम देख्दैन । एकोहोरो आलोचना गर्नमै व्यस्त छ ।’
आफ्नै दलका नेता माधव नेपाललाई ईग्गित गर्दै भन्नुभयो, ‘आफ्नो प्रधानमन्त्री हटाएर अर्को दलका लाई प्रधानमन्त्री बनाउन हिडेको पवित्र काम हो र ? त्यो त सबै दृष्टिले अपराध होइन ? आफ्नै दलका नेतालाई हटाएर अर्कालाई प्रधानमन्त्री बनाउन हिंड्नेहरु कार्वाहीका भागिदार बन्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्