
सोलुखुम्बु, जेठ ९ । सगरमाथा आरोहण खुला भएसँगै आइतबार एकैदिन करिब डेढ सय भन्दा बढीले सगरमाथाको आरोहण गरेका छन् ।
अधार शिविरको मौसम अनुकुल भएपछि आइतबार ठूलो संख्यामा आरोहीले शिखरको सफल आरोहण गरेका हुन् ।
शनिबारनै तयारी अवस्थामा चौथो क्याम्प पुगेका उनीहरुले धेरै हावा चलेपछि आरोहण गर्न सकेका थिएनन् ।
आरोहणका लागि दुई सयभन्दा धेरै आरोही प्रस्थान गरेको सगरमाथा आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले कतिपयको जानकारी सङ्कलन गर्न बाँकी रहेको बताउनुभयो ।
सामुद्रिक आँधी ताउ तेको प्रभावले सगरमाथा क्षेत्रमा पनि मौसम परिवर्तनको खतरा हुन सक्ने भन्दै केही दिन अघि आरोहण स्थगित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्