
काठमाडौ, जेठ ११ । नेपाल तरुण दलले कोरोना महामारीकाबीच पनि संसद विघटनविरुद्ध आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।
दरुण दलका अध्यक्ष जितजंग बस्नेतले आज परिपत्र जारी गर्दै प्रतिनिधिसभा विघटनलगायत सरकारका गैरसंवैधानिक कदमबिरुद्ध स्वास्थ्य मापदण्ड अपनाएर विरोध प्रर्दशनलाई निरन्तरता दिन जिल्ला शाखाहरुलाई निर्देशन दिएका छन् ।
तरुण दलले जेठ ७ गते मध्यरातमा राष्ट्रपति र प्रधानमन्त्रीले षड्यन्त्रपूर्वक तरिकाले गरिएको प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश, स्वच्छाचारी र प्रतिगामी ठहर गरेको छ ।
परिपत्रमा कोरोना महामारीले देश र जनता आक्रान्त भएको संकटपूर्ण अवस्थामा जनतालाई सहज उपचार मिलाउने कार्यलाई बेवास्ता गर्दै मध्यावधि निर्वाचनको घोषणा गर्नु देश र जनताप्रतिको गैरजिम्मेवारीपनाको पराकाष्ठा हो भने जनताको स्वास्थ्य माथिको गम्भिर खेलवाड अक्षम्य अपराध हो, भनिएको छ ।
तरुण दलले अन्य दलका भ्रातृसंगठन वाइसीएल, समाजवादी युवा संघ, युवा संघ नेपाल, अखिल युवक संघ, विवेकशील साझा युवा संगठनसंग समन्वय गरी सरकारविरुद्ध संघर्षका कार्यक्रम गर्न परिपत्रमार्फत निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्