१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चीनसँग नेपालका राजनीतिक दलहरूको भर्चुअल बैठक


0
Shares

काठमाडौं । नेपालका राजनीतिक दलका नेताहरुसँग कोरोना महामारीको बेला संयुक्त रूपमा अघि बढ्ने सम्बन्धमा चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले भर्चुअल छलफल गरेको छ ।

छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस विदेश विभाग प्रमुख डा. नारायण खड्का, मजदूर किसान पार्टीका अध्यक्ष नारायमान बिजुक्छे, राप्रपा अध्यक्ष पशुपति शमशेर जबरा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना सहभागी हुनुहन्थ्यो ।

सीपीसीका तर्फबाट अन्तर्राष्ट्रिय विभागका उपप्रमुख चेन झोउको सहभागिता रहेको थियो ।

उपप्रधानमन्त्री पोखरेलले चीनले नेपालका लागि स्वास्थ्य सामग्री, भ्याक्सिन र अक्सिजन प्लान्ट सहयोग गरेकोप्रति आभार व्यक्त गर्दै कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अझै सहयोग चाहिएको बताउनुभयो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महामारी नियन्त्रणका लागि चिन सरकारले नेपाललाई स्वास्थ्य सामाग्री उपलब्ध गराउनु खुशीको कुरा भएको बताउनुभयो ।

कांग्रेस नेता डा. नारायण खड्काले महामारीका कारण अक्सिजन, अक्सिजन सिलिण्डर लगायत स्वास्थ्य सामाग्री अभाव भइरहेका बेला नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरेकोमा चीनलाई धन्यवाद दिनुभयो ।

जसपा अध्यक्ष उपेन्द्र यादवले चीनले सधै नेपालको राजनीतिक स्थायित्व र विकास चाहेको भन्दै महामारीमा उपलब्ध गराएको खोपलगायत स्वास्थ्य सामग्रीले नेपालीको जीवन रक्षा गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चीन सरकारले उपलब्ध गराएको अक्सिजन सिलिण्डरका कारण मात्रै पनि हजारौँ नेपालीको जीवन रक्षा भएको बताउनुभयो ।

चीनले अघि सारेको बिआरआई प्रोजेक्टमा नेपालले हस्ताक्षर गरेको तीन वर्ष बितिसकेको उल्लेख गर्दै उहाँले अब यसको कार्यान्वयनमा जानुपर्ने बेला आएको बताउनुभयो ।