
काठमाडौं, जेठ १२ । राम्रा नीति बनेपनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा नेपालको बिजुलीको खपत बढाउन नसकिएको र अन्तर्राष्ट्रिय रुपमा समेत व्यापार गर्न नसकिएको यस क्षेत्रका जानकारले बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बुधबार आयोजना गरेको स्वदेशी खपतसँग विद्युत् व्यापार र आगामी बजेट विषयक अन्तरक्रियामा सहभागीले कार्यान्वयन हुने गरी आगामी आर्थिक वर्षको बजेट तयार गर्न सरकारलाई सुझाव समेत दिएका छन् ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मनत्रालयका सहसचिव मधुप्रसाद भेटवालले आन्तरिक रुपमा बिजुलीको माग बढ्न नसक्नुका तथ्य र कारणको खोजी गर्नुपर्ने बताउनुभयो ।
विद्युत् नियमन आयोगका सदस्य डा. रामप्रसाद धितालले मूल्य घटाएर मात्रै विजुलीको खपत बढ्छ भन्ने मान्यता राख्नुभन्दा पनि त्यसको विविधकरणमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मुलुकको समग्र ऊर्जा क्षेत्रको विकासका लागि प्राधिकरणको तर्फबाट गर्नुपर्ने सबै काममा सहजीकरण गर्न आफुहरु प्रयन्तशील रहेको बताउनुभयो ।
ऊर्जा क्षेत्रका जानकार ज्ञानेन्द्रलाल प्रधानले बिजुलीको बजार जताततै विस्तारित भएको खण्डमा त्यसैको खोजीमा लाग्नुभन्दा उत्पादन बढाउने तर्फ विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्