१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


रामचन्द्र पौडेलले सुझाए कांग्रेस पार्टी जोगाउन यी उपाय


0
Shares

काठमाडौं, जेठ १३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस पार्टी बचाउने विकल्प साँघुरिँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

नेपाल प्रेस युनियनको स्थापना दिवसका सन्दर्भमा गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले वर्तमान समयमा पार्टी बचाउन दुई विकल्प मात्र बाँकी रहेको जिकीर गर्नुभयो ।

नेता पौडेलले उपलब्ध क्रियाशील सदस्यबाट महाधिवेशन प्रतिनिधि तय गर्दै तल्लो तहबाट अधिवेशन गरेर तोकिएको समयमा महाधिवेशन गर्नुपर्ने धारणा राख्नुभयो ।

त्यो गर्न नसकिए अर्को एक वर्षका लागि नयाँ समिति निर्वाचित गरेर भए पनि पार्टी जोगाउनुपर्ने सुझाव पौडेलले दिनुभयो । यसका लागि १३ औं महाधिवेशनकै प्रतिनिधिहरुलाई प्रयोग गर्नु सकिने उहाँको भनाइ थियो ।

कांग्रेसले देशमा एकसाथ तीन वटा लडाइं लडिरहेको भन्दै पौडेलले भन्नुभयो, ‘पहिलो दायित्व कोरोनाबाट जनता बचाउनु हो, दोस्रो संविधान बचाउने जिम्मा पनि कांग्रेसको काँधमा छ । महाधिवेशन हुन नसकेर पार्टी संकटमा परेको छ, पार्टी बचाउनु तेस्रो महत्वपूर्ण जिम्मेवारी हो ।’

देशलाई विकल्प चाहिएको भन्दै नेता पौडेलले चुनावमा जाने परिस्थिति कतै नदेखिएको तर्क गर्दै भन्नुभयो, ‘लोकतान्त्रीक अभ्यास हो भनेर चुनावी घोषणा गर्ने तर महामारीलाई कारण देखाएर चुनाव सार्ने अवस्थामा सरकार पुग्छ, त्यो अवस्थाबाट पार पाउनका लागि हामी सर्वोच्च गएका हौ ।’

कार्यक्रममा प्रवक्ता विश्वप्रकाश शर्माले जनताले कांग्रेसलाई विपक्षमा बस्न जनादेश दिएको भए पनि कम्युनिष्टहरुले सत्ता चलाउन नसकेपछि मात्र सरकारको दावी गर्नुपरेको प्रष्टीकरण दिनुभयो ।

शर्माले भन्नुभयो, ‘प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि कांग्रेसले सरकार बनाउन पहल गरेको हो । यद्यपि, यो प्रक्रियाको अग्रसरता लिनुपरेको हामी क्षमा चाहन्छौं ।’

संविधानको धारा ७६ को उपधारा ५ दलहरु सरकार बनाउन विफल भएका एक व्यक्ति/सांसदले सरकार बनाउन आवश्यक बहुमत जुटाउन सक्छ भने अवसर दिने विकल्प भएकाले निर्दलीय अभ्यासमा कांग्रेस गएको भन्ने तर्क गर्न नमिल्ने पनि बताउनुभयो ।

बरु सरकार बनाउन गरिएको बहुमतको दावीलाई लत्याउने आधार र प्रमाण राष्ट्रपतिसँग के थियो भन्ने प्रश्न उठेको उहाँको भनाइ थियो ।