८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


यि हुन् अबका सात प्रदेश प्रमुख


0
Shares

काठमाडौं, कात्तिक १८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ । सोमबार बसेको नेकपा सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नाम टुंगो लगाएसँगै अब मन्त्रिपरिषद बैठक बसेर उनीहरुको नाम अनुमोदन गरिने छ ।

मन्त्रिपरिषदले निर्णय गरी नाम राष्ट्रपतिसमक्ष सिफारिश गरेपछि राष्ट्रपतिबाट सातै प्रदेशका प्रमुखलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

नेकपा सचिवालय बैठकले टुंगो लगाएको नाममा अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा) छन् ।

यसैगरी गोविन्द कलौनी (डडेल्धुरा), शर्मिला त्रिपाठी (काठमाडौं) र विष्णु प्रसाईँ (झापा) को नाम सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको बैठकपछि नेकपा प्रवक्ता विष्णु पौडेलले जानकारी दिए ।

कसलाई कुन प्रदेशको प्रमुखको जिम्मेवारी दिइएको भन्नेचाहिं खुलाइएको छैन । प्रदेशको जिम्मेवारी भने मन्त्रिपरिषद्ले तोक्ने जनाइएको छ ।

सरकारले आइतवार सातै प्रदेशका प्रमुखलाई एकसाथ बर्खास्त गरेको थियो । पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका सातै जनालाई सरकारले एकसाथ हटाएको हो ।

सरकारले उनीहरुलाई हटाए पनि संविधानले प्रदेश प्रमुख रिक्त नहुने कल्पनासहितको व्यवस्था गरेपनि सरकारले त्यसलाई बेवास्ता गरेको भन्दै आलोचना पनि भएको छ ।