१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्छौ–गृह मन्त्रालय


0
Shares

काठमाडौं, जेठ १४ । गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारवाही गर्ने प्रतिवद्धता जनाएको छ ।

शुक्रबार दिउँसो विज्ञप्ति निकाली स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ कानुनी कारबाही गरिने मन्त्रालयले जनाएको हो ।

‘कोभिड महामारीको यो विषम अवस्थामा बिरामीको उपचारमा खटिएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय कार्य हो,’ गृह प्रवक्ता जनकराज दाहालले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

घटनाको छानविनका लागि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा छानविन समिति पनि बनाइएको भन्दै मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन पनि दिएको छ ।

बिहीबार राति भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको कुटपिटका सन्दर्भमा मन्त्रालयले यो विज्ञप्ति निकालेको हो । घटनामा संलग्न रहेको तुलसीपुरका मानबहादुर रावत, भरत राउत र लोकराज रावतलाई प्रहरीले पक्रेको छ ।

विरामीको मृत्यु भएको विषयलाई लिएर तीनै जनाले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्दा केहीले एक तलामाथिबाट हामफालेर ज्यान जोगाएका थिए ।