
रौतहट, कात्तिक १८ । नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमविरुद्ध जन्मकैद माग गर्दै मुद्दा दायर गरिएको छ ।
रौतहट सरकारी वकिल कार्यालयले जिल्ला अदालत रौतहटमा मुद्दा पेश गरेको हो । १२ वर्षअघि इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको भन्ने आरोपमा आलममाथि मुद्दा चलाउने निर्णय गरिएको हो ।
रौतहटका प्रमुख जिल्ला सरकारी वकिल खडिन्द्र कटुवालले आलमसहित १० जनालाई जन्मकैदको माग गर्दै अदालतमा मुद्दा लगिएको बताए । एक जनालाई मतियारका रुपमा मुद्दा चलाइएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले २०६४ चैत २७ गते रौतहटको राजपुर ४ मा बम विस्फोट हुँदा केही मानिस मरेको र केही घाइते भएको प्रतिवेदन शुक्रबार सरकारी वकिललाई बुझाएको थियो ।
रौतहटको सरूअठ्ठाका ओसी अख्तर र त्रिलोक सिंह पिन्टु उक्त बम विष्फोटमा मारिएको तथा सर्लाहीका सफी अहम्मदसमेत दुई जना घाइते भएको अनुसन्धानबाट पुष्टि भएको रौतहट प्रहरीले जनाएको छ।
आलमविरुद्ध दुई जनाको हत्या गरेकोमा कर्तव्य ज्यान, अहम्मदलाई घाइते बनाएकोमा ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थको कारोबार र भण्डारण गरी विष्फोट गराएकोमा मुद्दा चलाउनुपर्ने प्रहरी प्रतिवेदन छ ।
प्रहरीले घटना गराइएका बेलाको मुलुकी ऐनअनुसार आलमलाई सर्वस्वसहित जन्मकैद हुनुपर्ने जिकिर प्रहरीले गरेको छ ।
१२ वर्षअघि पनि प्रहरीले आलमविरूद्ध ओसी अख्तर र पिन्टुको हत्या गरेको भन्दै सरकारी वकिलमा प्रतिवेदन लगे पनि सरकारी वकिल कार्यालय रौतहटले मुद्दा नचल्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्