
काठमाडौं, जेठ १४ । अक्सिजन अभावमा पोखराको एक अस्पतालमा सुत्केरी महिलासहित ६ जनाको मृत्यु भएपछि नेपाली कांग्रेसले सरकारप्रति प्रश्न उठाएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति प्रकाशित गर्दै देशमा सरकार कहाँ छ ? भन्ने प्रश्न गर्नुभएको हो ।
शर्माले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ, ‘समयमै अक्सिजन उपलब्ध हुने सुनिश्चित व्यवस्थापनको समन्वय सरकारले अझै गर्न नसक्नुको परिणाममा उपचाररत बिरामीको ठूलो संख्यामा एकसाथ निधनले राज्यको अकर्मण्यता पुष्टि त गरेको छ नै सरकार कहाँ छ भन्ने गम्भीर प्रश्न पनि सृजना गरेको छ ।’
जनताको मृत्यु यसरी कहालीलाग्दो ढंगले हुँदै गर्दा सरकार मानवीय कर्तव्यमा भन्दा असंवैधानिक कर्ममा लिप्त रहनु इतिहासकै दूर्भाग्य भएको ठहर गर्दै विज्ञप्तिमा भनिएको छ, ‘ देशभरका सरकारी हुन् या निजी क्षेत्रका अस्पताल अक्सिजन अभाव हुन नदिन अत्यावश्यक समन्वय गर्ने अनिवार्य दायित्व सरकारको हो । सरकारले यो दायित्व निर्वाह नगरेर हुने र भएका गम्भीर घटनाहरुको जिम्मेवार पनि सरकार नै हो ।’
कांग्रेसले प्रधानमन्त्रीलाई मृत्युको तथ्यांक राख्ने भूमिकाबाट जनताको जीवन रक्षामा केन्द्रित हुन अपील पनि गरेको छ ।
आमाको मृत्युपछि असहज अवस्थामा रहेका नवजात शिशुप्रतिको कर्तव्य निर्वाह गर्न आग्रह गर्दै कांग्रेसले भनेको छ, ‘लापरबहीले भएका प्रत्येक मृत्यु महँगो पर्ने चेतावनी दिन चाहन्छ । अक्सिजन अभावमा एकसाथ जीवन गुमाएका ६ नागरिकको मृत शरीर अनि सुत्केरी आमाको मृत्युपछि असहज स्थिति सामना गरिरहेको नवजात शिशुलाई हेरेर राज्यको कर्तव्य पहिचान र आत्मसात् गर्नसमेत नेपाली कांग्रेस प्रधानमन्त्री एवं नेपाल सरकारलाई अपिल र आग्रह गर्दछ ।’
प्रतिक्रिया दिनुहोस्