
काठमाडौं, जेठ १५ । मुलुकमा कोरोना महामारीको दोस्रो लहर शुरु भएपछि सरकारले घोषणा गरेको निषेधाज्ञा (लकडाउन) को अवधि एक महिना भएको छ ।
यो एक महिनामा मात्र कोरोना महामारीबाट मृत्यु हुनेको संख्या ३८ सय नाघेको छ । कोरोनाको दोस्रो लहरबाट संक्रमित र मृत्यु हुनेको संख्या बढ्न थालेपछि सरकारले गएको वैशाख १६ गतेबाट राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा आवश्यकताका आधारमा निषेधाज्ञा लगाउँदै आएको छ ।
लकडाउनको एक महिनामा ३ हजार ८३६ जनाको मृत्यु भएको हो । लकडाउन घोषणा गर्नु अघिल्लो दिन वैशाख १४ गते १८ जनाको मृत्यु भएको थियो । यसबीचमा सबैभन्दा बढी जेठ ५ गते २४६ जनाको मृत्यु भयो भने वैशाख २८ का दिन २२५ जनाको मृत्यु भएको थियो ।

१० माघ २०७६ (२४ जनवरी २०२०) चीनको वुहानबाट आएका विद्यार्थीमा कोरोनाको पहिलो केश फेला परेको नेपालमा त्यसयताका १६ महिनामा ५ लाख ४९ हजारभन्दा बढीमा कोरोना संक्रमण भएको छ ।
३ जेठ २०७७ (१६ मे २०२०) कोरोना संक्रमणबाट पहिलो मृत्यु भएको नेपालमा त्यसयताको अवधिमा ७ हजार ४७ जनाको मृत्यु भइसकेको छ । पहिलो लहरको समयमा सबैभन्दा बढी १९ कात्तिक २०७७ मा ४३ जनाको मृत्यु हुँदा दोस्रो लहरको लकडाउन घोषणा पूर्वसम्म ३ हजार २११ जनाको मृत्यु भएको थियो ।

२९ बैशाख २०७८ मा सबैभन्दा बढी ९ हजार २३८ जनामा भाइरसको संक्रमण देखिएको थियो । हालसम्म ५ लाख ४९ हजार १११ जना संक्रमित हुँदा ४ लाख २८ हजार ६७० जनालाई निको भैसकेको छ । पछिल्ला दिनमा संक्रमित हुनेभन्दा निको हुनेको दर पनि बढ्न थालेको छ ।

यसबीचमा अग्रपंक्तिमा रहेर काममा खट्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, ज्येष्ठ नागरिक, सफाईकर्मी, सांसदसमेत गरी केही लाखले खोप लगाएका छन् । पहिलो डोज लगाएका कतिले अझै पनि दोस्रो डोज खोप लगाउन पाएका छैनन् । सरकारले खोप ल्याउनका लागि अमेरिका, बेलायत, चीन, रुसलगायतका देशसँग कूटनीतिक पहल गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्