
गुल्मी, जेठ १५ । गुल्मीमा कोरोनाबाट मृत्यु हुने र संक्रमितहुनेको संख्या दिनानुदिन बढेपछी गुल्मीमा जारी निषेधाज्ञा जेठ २४ गतेसम्म लम्बाइएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले जेठ २४ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
गुल्मीमा कोरोना संक्रमण नियन्त्रणका लागि वैशाख १८ गते रातिदेखि लगाइएको निषेधाज्ञा शनिबार राति १२ बजे सकिंदै छ ।
कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तीव्र रुपमा फैलिरहेकाले त्यसको सर्तकता स्वरुप जिल्लामा निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।
निषेधाज्ञा अवधिमा अत्यावश्यक उपभोग्य खाद्यवस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ तथा निर्माण सामग्रीका पसलहरु बिहान ७ देखि ९ बजेसम्म खुल्न पाइने छ ।
निषेधाज्ञामा खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी, औषधि बोक्ने मालबाहक गाडी र एम्बुलेन्सबाहेक मोटरसाइकलसहित अन्य सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको छ ।
यस्तै अत्यावश्यक कामबाहेक सर्वसाधारण घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।
जिल्लामा कोभिडको दोस्रो लहरबाट ७६ जनाको मृत्यु भएको छ । जम्मा २२३२ जना संक्रमित भएकामा १४३२ जना निको भएका छन भने ६६४ सकृय संक्रमीत रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्