
बाँके, कात्तिक १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सचिवालय सदस्य माधव नेपालले प्रदेश प्रमुख नियुक्तिमा ‘नोट अफ डिसेन्ट’ लेख्नुलाई स्वाभाविक भएको टिप्पणी गरेका छन् ।
बाँकेको नेपालगञ्जमा मंगलबार सञ्चारकर्मीहरुसँग दाहालले सोमबारको सचिवालय बैठकमा नेता नेपालले प्रदेश प्रमुखका लागि पेश गरेका नाम नपरेपछि नोट अफ डिसेन्ट लेख्नु स्वाभाविक नै भएको बताएका हुन् ।
नेता नेपालले आफ्ना पक्षका एक/दुई जनाको नाम राख्न जोड दिए पनि बैठकले निर्णय नगर्दा नोट अफ डिसेन्ट लेख्नुलाई सामान्य र स्वाभाविक प्रक्रियाका रुपमा लिनुपर्ने दाहालले बताए ।
नेता नेपालले नव नियुक्त प्रदेश प्रमुखलाई मान्दिनँ नभनेको पनि दाहालले सुनाए । प्रदेश प्रमुख छान्दा एकलौटी निर्णय भएको र मापदण्ड नपुगेकालाई सिफारिश गरिएको भन्दै नेता नेपालले नोट अफ डिसेन्ट लेखेका थिए ।
अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश प्रमुख हटाउँदा र नयाँ नियुक्त गर्दा सत्ता साझेदार समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरिएको र सहमति मै निर्णय भएको उनले प्रष्ट्याए ।
सरकार परिवर्तनपछि प्रदेश प्रमुख फेर्नु स्वाभाविक हो भन्दै दाहालले वर्तमान सरकार उदार भएकैले बर्खास्तगीमा परेकाहरुले दुई वर्षसम्म काम गर्न पाएको तर्क पनि गरे ।
प्रतिक्रिया दिनुहोस्