१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


बजेटमा कोरोना रोकथामलाई प्राथमिकता, खोप खरिदमा २६ अर्ब विनियोजन


0
Shares

मिरा बस्नेत
काठमाडौं । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८/८९ को आयव्यय विवरण(बजेट)मा कोरोना रोकथाम तथा स्वास्थ्य प्रणाली सुधारलाई प्राथमिता दिएको छ ।

बजेटमा १ खर्ब २२ अर्व ७७ करोड स्वास्थ्य क्षेत्रको लागि विनियोजन गरेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि खोप खरिदलाई प्राथमिकता दिइएको छ । कोरोना रोकथामका लागि भरपर्दो स्वास्थ्यसेवा, स्वास्थ्य परीक्षण र क्वारेन्टाइको स्थापना, औषधि र उपकरणका लागि मात्र ६७ अर्व ५६ करोड रकम विनियोजन गरेको छ ।

खोप लगाउन बाँकी रहेका सबै उमेर समूहका लागि निशुल्क खोप खरिद गर्न २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्दै सबै नेपालीको जीवन रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै देशभरका सरकारी अस्पताल र प्रयोगशालाहरुमा संक्रमितको निशुल्क उपचार गरिने बताउनुभयो ।

सरकारले संक्रमितको उपचारको लागि आवश्यक स्वास्थ्य उपकरण खरिदको लागि सरकारले ४ अर्ब रकम विनियोजन गरेको छ । संक्रमितको उपचारको लागि प्रयोग हुने औषधी आयातमा भन्सार छुट दिने भएको छ । १ सयभन्दा बढी शय्या भएका अस्पतालहरूमा आफ्नै अक्सिजन प्लान्ट जडान गर्नुपर्ने व्यवस्था गरिएको छ भने प्लान्ट जडान गर्दा आवश्यक पर्ने उपकरण आयात गर्दा लाग्ने भन्सार तथा अभिवृद्धिकरमा पूरै छुट दिइएको छ ।

सामुदायिक तथा निजी अस्पतालले अक्जिसन प्लान्ट जडान गरे विद्युत महशुलमा ५० प्रतिशत छुट दिने निर्णय पनि सरकारले गरेकाे छ । संक्रमितको उपचारमा जनशक्तिको अभाव हुन नदिन सेवाबाट निवृत्ति भइसकेका तथा इन्टर्नसिपमा रहेका डाक्टर नर्सलाई तलब र ५० प्रतिशत जोखम भत्ता दिने गरी १ वर्षको लागि करारमा अस्पतालहरूमा खटाइने विषय पनि बजेटमा समेटिएकाे छ ।

सरकारले संक्रमण रोकथाम तथा नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको जोखिम भत्तालाई निरन्तरता दिँदा निःशुल्क दिँदै आएको ७० प्रकारको औषधि खरिदका लागि ५ अर्ब ६० करोड, मुटु, मृर्गौला, स्पाइनल इन्जुरी पार्किन्सन लगायतका रोगका लागि २ अर्ब ५० करोड विनियोजन गरेकाे छ ।

केन्द्रमा ३ सय र सबै प्रदेशमा ५० शय्याको सुविधा सम्पन्न सरुवा रोग अस्पताल निर्माण गर्न १ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ ।

घातक रोग, कुष्ठरोग, जेष्ठ नागरिक बालबालिकाहरूलाई मुटुको नि:शुल्क स्वास्थ्य उपचार गर्न, क्षयरोग र कुष्ठरोगकोको नियन्त्रण कार्यक्रम सञ्चालन गर्न १ अर्ब ४६ करोड रकम विनियोजन गरिएको छ । सबै नेपालीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउन ७ अर्ब ५० करोड रकम छुट्याइएकाे छ ।