१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसद विघटन: संवैधानिक इजलाशमा सुनुवाइ शुरु, न्यायाधीश श्रेष्ठ र केसीलाई इजलाशमा नराख्न माग


0
Shares

काठमाडौं, जेठ १६ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ शुरु भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलाशमा सुनुवाइ शुरु भएको हो । सुनुवाईको थालनी कानुनव्यवसायी गोविन्द बन्दीले गर्नुभएको छ । उहाँले रिट निवेदक शेरबहादुर देउवाको पक्षबाट बहस गर्नुभएको हो ।

बन्दीले न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई इजलाशमा नराख्न माग गर्नुभएको छ ।

न्यायाधीश श्रेष्ठ तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने २३ फागुनको फैसला गर्ने दुई न्यायाधीशमध्ये एक जना भएको भन्दै अहिलेको सुनुवाईमा बस्दा स्वार्थ बाझिने तर्क वकीलहरुको थियो । केसीले भने उक्त फैसलाविरुद्ध परेको पुनरावलोकनको निवेदन खारेज गर्नुभएको थियो ।

अधिवक्ता बन्दीले तपाईहरु दुई जना इजलाशमा रहँदा अदालतको गरिमा रहन्छ कि खस्कन्छ आफै विचार गर्नुहोस् भन्नुभएको छ ।

यसअघि, शुक्रबारको सुनुवाईमा पनि संवैधानिक इजलाशमा राखिएका न्यायाधीश बमकुमार श्रेष्ठबारे अधिवक्ताहरुले प्रश्न उठाएका थिए ।

तर महान्यायाधिवक्ता केशव वडालले भने पक्षका तर्फबाट बहसमा आएका शम्भु थापालगायतले मुद्दामा विपक्ष रहेका सभामुखलाई राय दिएको भन्दै आपत्ति जनाउनुभएको थियो ।

सोही विषयमा विवाद भएपछि शुक्रबारको सुनुवाई स्थगित गर्दै प्रधानन्यायाधीश राणाले आइतबारलाई दिन तोक्नुभएको थियो ।