१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसद विघटन मुद्दाः ‘सुनुवाई स्वच्छ नभएको, मिडिया प्रयोग गरिएको’ महान्यायाधिवक्ता बडालको आरोप


0
Shares

sarbocha bahas

काठमाडौं, जेठ १६ । महान्यायाधिवक्ता रमेश बडालले प्रतिनिधि सभा विघटनसम्बन्धि मुद्दामा स्वच्छ सुनुवाई नभएको आरोप लगाउनुभएको छ ।

संवैधानिक इजलाशमा राखिएका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठकासम्बन्धमा वरिष्ठ अधिवक्तालगायतले प्रश्न उठाएपछि प्रतिवाद गर्दै बडालले स्वच्छ सुनुवाई नभएको र मिडिया ट्रायल भइरहेको आरोप लगाउनुभएको हो ।

बडालको भनाइ थियो, ‘आज स्वच्छ सुनुवाई भइरहेको छैन । मिडिया प्रयोग गरियो । शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेलले मिडिया स्ट्राटेजी प्रयोग गर्नुभएको छ ।’

सभामुखलाई विपक्षी बनाउने र कानुनी सल्लाह पनि दिनु कानुन व्यवसायीको आचारसंहिता विपरित हो भन्दै उहाँले ती कानुन व्यवसायीहरुलाई बार काउन्सिलमार्फत् कारबाही गर्ने चेतावनी दिनुभयो ।

बडालले यस्ता तर्क गर्न थालेपछि बेन्चमा रहनुभएका न्यायाधीश आनन्दमोहन भट्टराईले महान्यायाधिवक्ता बडाललाई भन्नुभयो, ‘बाहिर नजानुहोस्, बेन्चभन्दा बाहिर नजानुस् ।’

बडालको तर्क थियो, ‘मुद्दाका तर्फबाट बहस गर्ने कानुन व्यवसायीले पालना गर्नु पर्ने नियम के हो त्यो गाइडलाइन सम्झाएको हुँ ।’

मुद्दा दर्ता भएको बेला एक जना निवेदकले प्रधानमन्त्रीलाई प्रधानन्यायाधीशले भेटेको भनेर ट्वीट गरेको भन्दै बडालले थप्नुभयो, ‘यो मुद्दालाई प्रभावित गर्नका लागि गरिएको हो ।’

ऋषि कटेलको मुद्दासँग अहिलेको मुद्दाले कुनै सरोकार नराख्ने भन्दै उहाँले भन्नुभयो, ‘कही पनि सार्थक सम्बन्ध छैन । नेकपा एमालेलाई विपक्षी बनाइएको होइन अहिले । अहिले त प्रधानमन्त्री ओलीको विपक्षमा छ ।’

‘न्यायाधीश बमकुमार श्रेष्ठ, तेजबहादुर केसी र प्रधानन्यायाधीशले यो मुद्दा हेर्न मिल्दैन भने सर्वोच्च अदालतले केपी ओलीविरुद्धका कुनै पनि मुद्दा हेर्न मिल्दैन । कुनै न कुनै मुद्दा सबै न्यायाधीशले हेर्नु भएको छ । नेपाल सरकारविरुद्धका कुनै पनि मुद्दा हेरेको श्रीमान्ले दोहोर्‍याएर सरकारविरुद्धको अर्को मुद्दा हेर्न मिल्दैन । कोही पनि श्रीमान् बाँकी रहनुहुन्न,’ बडालको जवाफ थियो ।

उहाँले थप्नुभयो, ‘त्यसो हो भने निर्वाचन तोकिएको छ । जनतालाई नै छाडिदिउँ । होइन भने यो इजलाश सही छ । उहाँहरुको निवेदनमा यो यो न्यायाधीश रहनुपर्छ भन्ने लेखेको छैन भने निवेदनभन्दा बाहिर गएर बहस गर्न मिल्दैन । त्यसैले यो इजलाशलाई विभेद हुनु पर्ने कुरा छैन ।’

बडालको जिकीर थियो, ‘माननीय न्यायाधीशहरु कसैले प्रचण्ड, कसैले देउवा, कसैले विद्या भण्डारीको पक्षमा फैसला गर्नु भएको छ । विपक्षीले उठाएको प्रश्नमा जाने हो भने हामी पनि निवेदन दिन्छौं, २० जना श्रीमान् नै यो मुद्दाको लागि ठीक हुनुहुन्न भनेर ।’

‘मुद्दामा २९ जना कानुन व्यवसायी र १४६ जना सांसद निवेदक हुनुहुन्छ । उहाँहरुको पनि न्यायाधीशसँग कुनै सम्बन्ध छ कि छैन भनेर नातागोता खोजी गर्ने स्थिति नआओस् श्रीमान् । यसअघि हरिकृष्ण कार्कीमाथि प्रश्न उठाएपछि इजलाश छाड्नु भयो । उहाँहरु त पल्किनु भएछ,’ महान्यायाधिवक्ता बडालले भन्नुभयो ।