
काठमाडौं, जेठ १६ । प्रतिनिधि सभा विघटनबारे परेका मुद्दाको सर्वोच्च अदालतको संवैधानिक इजलाशमा भइरहेको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ ।
आइतबार भएको बहस इजलाशमा रहेको न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले सुनुवाई गर्न नमिल्ने जिकीर मुद्दाका पक्ष वकीलहरुले गरेपछि त्यसैमा अल्मलिएर सकिएको छ ।
रिट निवेदकका सबैजसो कानुन व्यवसायीले न्यायाधीश श्रेष्ठ र केसीलाई इजलाशमा निरन्तरता दिन नहुने जिकीर गरेका थिए भने महान्यायाधिवक्ताले वकीलले न्यायाधीश रोज्न थाल्ने हो भने सुनुवाई नै हुन नसक्ने चेतावनी दिएका थिए ।
आफूले तोकेको इजलाशका न्यायाधीशप्रति प्रश्न उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र वरिष्ठ अधिवक्ताहरूबीच सवाल जवाफ नै भएको थियो । यद्यपि, इजलाशमा बस्ने नबस्ने निर्णय भने न्यायाधीशद्वयले नै लिने प्रधानन्यायाधीश राणाको भनाइ थियो ।
प्रतिनिधि सभा विघटनसम्बन्धि मुद्दामा केसीले अघिल्लो पटक पनि सुनुवाई गरेको तथा श्रेष्ठले नेकपा विघटन गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेको भन्दै रिट निवेदकका वकीलहरुले उहाँहरु इजलाशमा बस्न नहुने माग गरेका छन् ।
आइतबारको बहस यसैमा अल्झिँदा मुद्दाको तथ्यमा प्रवेश नै गर्न पाएन ।
संवैधानिक इजलाशमा प्रधानन्यायाधीश जबराका साथमा न्यायाधीशहरू दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ हुनुहुन्छ । उक्त इजलाशमा सुनुवाईका लागि प्रतिनिधि सभा विघटनसम्बन्धि ३० वटा रिट निवेदन रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्