
पोखरा, जेठ १६ । गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन पनि आजबाट सुरु भएको छ ।
अधिवेशनको पहिलो दिन विभिन्न दलका संसदीय दलका नेताहरुले संबोधन गर्दै संघीय सरकारले ल्याएको बजेटको आलोचना गर्नुभयो ।
प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल, माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान र जनमोर्चा संसदीय दलकी नेतृ पियारी थापाले संघीय सरकारको बजेटले प्रदेश सरकारको आवश्यकतालाई संवोधन गर्न नसकेको आरोप लगाउनुभयो ।
प्रदेश सभामा सोमबारबाट बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत हुने कार्यतालिका छ ।
प्रदेश सभाको यस अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनु हुनेछ ।
२९ वैशाखमा दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुनु भएका मुख्यमन्त्री गुरुङले ३० दिनभित्र विश्वासको मत लिनैपर्ने संवैधानिक प्रावधान अनुसार यस अधिवेशनमा विश्वास माग्नु हुनेछ ।
मुख्यमन्त्री गुरुङले विश्वास नपाए प्रदेश मध्यावधि निर्वाचनमा धकेलिने सम्भावना छ ।
३ सांसद भएको राष्ट्रिय जनमोर्चाले सत्तारुढ एमालेलाई साथ दिएमात्र मुख्यमन्त्री गुरुङलाई विश्वास पुग्छ ।
अघिल्लो पटक कांग्रेस नेतृत्व गठबन्धनलाई साथ दिने निर्णय गरेको जनमोर्चाले अहिले के गर्छ टुङ्गो छैन ।
प्रदेश सभामा जनमोर्चा तटस्थ बस्ने हो भने प्रदेश मध्यावधिमा धकेलिन्छ ।
सत्तारुढ एमालेको २८, कांग्रेसको १५, माओवादी १२, राष्ट्रिय जनमोर्चा ३ र जनता समाजवादी पार्टीका २ सांसद छन् ।
प्रतिक्रिया दिनुहोस्