
काठमाडौं, जेठ १८ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा संवैधानिक इजलाश सञ्चालनसम्बन्धि नियमावली परिवर्तन गरेर वरिष्ठताका आधारमा इजलाश गठन गर्न सहमत हुनुभएको छ ।
सर्वोच्च अदालतको फुल कोर्ट बैठकले स्वीकृत गरेर न्याय परिषद्बाट पारित गराई इजलाश गठन गर्नेबारेमा प्रधानन्यायाधीश राणा र सर्वोच्च बारका पदाधिकारीबीच सहमति भएको अध्यक्ष पूूर्णमान शाक्यले जानकारी दिनुभयो ।
शाक्यकाअनुसार अब ज्येष्ठताका आधारमा संवैधानिक इजलाश गठन गरिने छ । ज्येष्ठतम् न्यायाधीश पनि कुनै कारणबस सहभागी हुन नसक्ने स्थिति भएमा जानकारी दिएर त्यसपछिका न्यायाधीशलाई इजलाशमा राखिने छ ।
शाक्यले भन्नुभयो, ‘भेटमा संवैधानिक इजलाशको नियममै आवश्यकता अनुसार परिर्वतन गरी सिनियारिटीका आधारमा संवैधानिक इजलाश गठन गर्ने र यसरी गठन गर्दा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट वा स्वास्थ्यका कारण बस्न नसक्ने भयो भने कारणसहित नबस्ने नोटिस गरेपछि त्यसभन्दा तला वरिष्ठतामा जो छ, उसलाई राखेर बेञ्च गठन गर्न सम्माननीयज्यू सहमत हुनु भएको छ ।’
एक साताभित्रै संशोधन प्रस्ताव ल्याउने र त्यसपछि मात्र संवैधानिक विवाद अगाडि बढाइने सहमति भएको भन्दै शाक्यले भन्नुभयो, आज बेञ्च स्थगित हुन्छ होला ।’
संवैधानिक इजलाश गठनमा न्यायाधीश तोक्दा विवाद बढेपछि त्यसको समाधान खोज्न प्रधानन्यायाधीश राणा र सर्वोच्च बारका पदाधिकारीहरुबीच छलफल भएको थियो ।
एकहप्ता भित्रमा नियमावली परिवर्तन गरेर त्यसपछि मात्रै संवैधानिक इजलाश गठन हुने अध्यक्ष शाक्यले जानकारी दिनुभयो । यसम्बन्धि जानकारी मंगलबारको बेन्चले गराउने सहमति भएको पनि उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्