
बुटवल, जेठ १९ । लुम्बिनी प्रदेशसभामा बुधबारदेखि शुरु भएको ८ औं अधिवेशनको पहिलो बैठकमै विपक्षी दलहरु सरकारमाथि खनिएका छन् ।
प्रदेशसभामा बोल्ने विपक्षी दलका नेताहरुले सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् ।
बैठक सुरु भएलगत्तै विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रमुख सचेतक फकरउद्दिन खानले मूख्यमन्त्रीको राजीनामा माग गर्नुभयो ।
बहुमतका लागि ४१ जना सभासद्सहित दावी गर्नु पर्नेमा शंकर पोखरेलले एक जनाको किर्ते हस्ताक्षर गरी दावी गरेकाले सरकारले बैधानिकता गुमाएको जिकिर गर्नुभयो ।
त्यस्तै जनता समाजवादी पार्टी संसदीय दलका नेता सहश्राम यादवले सरकारले सत्ता लिप्तहुँदै स्वार्थपूर्तिका लागि आफ्नो दललाई समेत फुटाउने काम गरेको आरोप लगाउनुभयो ।
यसैगरी नेकपा माओवादीका प्रदेशसभा सदस्य सुदर्शन बरालले मुख्यमन्त्री पोखरेलको वैधानिकतामाथि प्रश्न उठाउँदै शपथ ग्रहणप्रति आपत्ति जनाउनुभयो ।
बैठकमा सदस्यहरु वीरबहादुर राना, तारा जिसी, शंकर गिरी, इन्द्रजित थारुले सरकारको आलोचना गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्